काठमाडौं। म्यान्मारका भुकम्प प्रभावितहरुका लागि नेपाल सरकारले पठाएको रहत र स्वास्थ्य सामग्री लिएर नेपाल वायुसेवा निगमको चार्टर विमान म्यानमार पुगेको छ।
सरकारले म्यानमार सरकारलाई २ करोड ४५ लाख बराबरको सामग्री पठाएको छ। ती सामग्री लिएर निगमको जहाज बुधबार राति साँढे ११ बजे म्यानमार गएको थियो।
चैत १८ गते बसेको मन्त्रीपरिषद बैठकमार्फत सरकारले म्यानमारका भूकम्प प्रभावितका लागि अत्यावश्यक राहत तथा मेडिकल सामग्री र उद्दारका लागि नेपाली सेनाको टोली पठाउने निर्णय गरेको थियो। सोही निर्णय अनुसार राहत र स्वास्थ्य सामग्री पठाइएको हो।
सरकारले पठाएको राहत सामग्रीमा औषधी, खाद्य तथा गैरखाद्य सामग्री र पुनर्वासका सामग्री रहेका छन्।
म्यानमारमा भुकम्पमा परेर ३५ सय ब्यक्तिको ज्यान गएको थियो भने हजारौं घाइते छन।
नेपाली सेना यसअघि नै म्यानमारका भुकम्प प्रभावित घाइतेहरुको स्वास्थ्य उपचारमा खटिसकेको छ। म्यानमारको मन्डले क्षेत्र अन्तर्गत यामेथिन शहरमा मेडिकल क्याम्प स्थापना गरी नेपाली सेनाले भूकम्प प्रभावित घाइतेहरूलाई स्वास्थ्य उपचार प्रदान गरिरहेको छ।
म्यानमारका भुकम्प प्रभावितहरुको उद्दार तथा उपचारका लागि चिकित्सक र स्वास्थ्य सामग्री लिएर नेपाली सेनाको २२ जनाको चिकित्सक टोली गत बुधबार त्यसतर्फ प्रस्थान गरेको थियो।



