काठमाडौं। सरकारले आज राती नेपाल वायुसेवा निगमको चार्टर विमानमार्फत म्यानमारका भुकम्प प्रभावितहरुका लागि राहत र स्वास्थ्य सामग्री पठाउँदै छ।
सरकारले म्यानमार सरकारलाई २ करोड ४५ लाख बराबरको राहत सामग्री पठाउन लागेको हो। ती सामग्री आज राति साँढे ११ बजेको नेपाल वायुसेवा निगमको वाइडबडी चार्टर जहाजमार्फत म्यानमार पठाइने छ।
चैत १८ गते बसेको मन्त्रीपरिषद बैठकमार्फत सरकारले म्यानमारका भूकम्प प्रभावितका लागि अत्यावश्यक राहत तथा मेडिकल सामग्री र उद्दारका लागि नेपाली सेनाको टोली पठाउने निर्णय गरेको थियो। सोही निर्णय अनुसार राहत र स्वास्थ्य सामग्री पठाउन लागेको हो।
सरकारले पठाउन लागेको राहत सामग्रीमा औषधी, खाद्य तथा गैरखाद्य सामग्री र पुनर्वासका सामग्री रहेका छन्।
म्यानमारमा भुकम्पमा परेर ३५ सय ब्यक्तिको ज्यान गएको थियो भने हजारौं घाइते छन। म्यानमार पठाइने सामग्रीको मंगलबार गृहमन्त्री रमेश लेखकले निरीक्षण गरेका थिए।
नेपाली सेना यसअघि नै म्यानमारका भुकम्प प्रभावित घाइतेहरुको स्वास्थ्य उपचारमा खटिसकेको छ। म्यानमारको मन्डले क्षेत्र अन्तर्गत यामेथिन शहरमा मेडिकल क्याम्प स्थापना गरी नेपाली सेनाले भूकम्प प्रभावित घाइतेहरूलाई स्वास्थ्य उपचार प्रदान गरिरहेको छ।
म्यानमारका भुकम्प प्रभावितहरुको उद्दार तथा उपचारका लागि चिकित्सक र स्वास्थ्य सामग्री लिएर नेपाली सेनाको २२ जनाको चिकित्सक टोली गत बुधबार त्यसतर्फ प्रस्थान गरेको थियो।



