काठमाडौं। नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्र देव शाक्यले वितरण प्रणालीमा हुने प्राविधिक तथा अप्राविधिक चुहावटलाई घटाउन निर्देशन दिएका छन।
नेपाल विद्युत प्राधिकरणको वितरण तथा ग्राहक सेवा निर्देशनालयको जुम बैठकलाई सम्बोधन गर्दै शाक्यले वितरण प्रणालीमा हुने प्राविधिक तथा अप्राविधिक चुहावटलाई घटाउन आवश्यक पहलकदमीसहित कदम चाल्न निर्देशन दिएका हुन।
शाक्यले वितरण प्रणालीलाईसमेत अझ व्यवस्थित र प्रभावकारी बनाउन आवश्यक रहेको बताउँदै त्यसतर्फसमेत ध्यान दिन विशेष निर्देशन दिए। यसैगरी, वितरण प्रणालीको विश्वसनीयता बढाउन आवश्यक कार्ययोजना बनाएर कार्यान्वयन गर्न पनि उनले सबैलाई आग्रह गरे।
बैठकमा उपकार्यकारी निर्देशक दिर्घायु कुमार श्रेष्ठ र अन्तर्गतका प्रादेशिक प्रमुखहरूको सहभागिता थियो भने सबै फिडरहरूको विश्वसनीयता मापन गर्नको लागि तयार पारिएको सूचकको प्रयोग गरी गत माघ, फागुन र चैत्र महिनाको मापन गरिएको जानकारी प्रस्तुत गरिएको थियो।
यस्तै विद्युतीय दुर्घटनाबाट हुने सक्ने जनधनको क्षतिलाई न्यूनीकरण गर्न प्राधिकरणले अल्पकालीन, मध्यकालीन र दीर्घकालीन उपाय तथा रणनीतिहरू अवलम्बन गर्ने भएको छ। यसका साथै बैठकमा नयाँ विद्युत माग र क्षमता वृद्धि माग भएका ठाउँहरूमा तत्काल विद्युत आपूर्तिको व्यवस्था गरी विद्युत खपत बढाउने विषयमा पनि छलफल भएको छ।
बैठक विद्युत वितरण प्रणालीलाई थप सुरक्षित, भरपर्दो र ग्राहकमुखी बनाउन महत्त्वपूर्ण साबित हुने प्राधिकरणले जनाएको छ।



