काठमाडौं। स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरुको ११ औं शिखर सम्मेलन बिहीबारदेखि काठमाडौंमा सुरु हुँदैछ।
नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को ३४ औं स्थापना दिवसको सन्दर्भ पारेर परिषद्ले ११ औं शिखर सम्मेलन आयोजना गर्न लागेको हो। सम्मेलनमा स्वदेशी तथा विदेशी विज्ञहरू सहभागी हुँदैछन।
“स्वास्थ्य, जलवायु र जनसंख्यामा परिवर्तनः दिगो र समावेशी भविष्यको लागि उत्थानशील स्वास्थ्य प्रणाली” मुल नारासहित हुन लागेको सम्मेलको उद्घाटन शिक्षा विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले गर्नेछिन।
परिषद्ले बुधबार पत्रकार सम्मेलन गर्दै सम्मेलका बारे जानकारी दिएको हो। परिषद्का कार्यकारी सदस्य सचिव डा प्रमोद जोशीका अनुसार सम्मेलनमा नेपालसहित भारत, चीन, बेलायत, स्विजरल्यान्ड, जर्मनी, अमेरिका लगायतका देशबाट एक सय भन्दा बढी अन्तर्राष्ट्रिय विज्ञहरू सहभागी हुनेछन।
यस्तै एक हजार बढी राष्ट्रिय स्तरका सहभागीहरूको उपस्थिति हुने डा जोशीले जानकारी दिए। सम्मेलनमा केही विदेशी तथा केही स्वदेशी विज्ञ भर्चुअल रुपमासमेत सहभागी हुनेछन।
सम्मेलनमार्फत स्वास्थ्य र जनसंख्यामा आधारित अनुसन्धानको प्रवर्द्धन, प्रमाणमा आधारित नीतिनिर्माण प्रक्रिया सुदृढ गर्ने र वैज्ञानिक अनुसन्धानकर्ता तथा नीतिनिर्माताबीचको सहकार्यलाई बलियो बनाउने लक्ष्य लिइएको छ।
सम्मेलन जलवायु परिवर्तनका कारण उत्पन्न स्वास्थ्य चुनौतीहरू, स्वास्थ्य प्रणालीको उत्थानशीलता र स्वास्थ्य सेवामा समान पहुँचको सुनिश्चितता लगायतका समसामयिक विषयवस्तुमा केन्द्रित हुनेछ।
यस्तै सम्मेलनमा स्वास्थ्य बीमा, दक्ष स्वास्थ्यकर्मीको पलायन, मानसिक रोग, सर्ने/नसर्ने रोग तथा अनुसन्धान नियमन लगायत विषयमा पनि विशेष छलफल हुनेछ।
परिषद्ले सम्मेलनबाट प्राप्त निष्कर्षहरूमार्फत दिगो र उत्थानशील स्वास्थ्य प्रणाली विकासमा उल्लेखनीय योगदान पुग्ने विश्वास व्यक्त गरेको छ।
चैत ३० सम्म चल्ने सम्मेलन सोल्टी होटलमा आयोजना हुने तथा सम्पुर्ण तयारी पूरा भएको परिषद्का कार्यकारी सदस्य सचिव डा जोशीले जानकारी दिए।



