काठमाडौं। स्वास्थ्य बीमा बोर्डले बोर्डको विगत, वर्तमान अवस्था र भावी योजना समेटेर ४५ बुँदे श्वेतपत्र ल्याएको छ।
बोर्डले नवौँ स्वास्थ्य बीमा दिवसको पुर्व सन्ध्यामा आइतबार पत्रकार सम्मेलन गर्दै श्वेतपत्र जारी गरेको हो। श्वेतपत्रमा सेवाको वर्तमान अवस्था, फैलावट, पृष्ठभुमि, सेवा लिनेको विवरण र भावी योजना लगायतका विषय उल्लेख गरिएको छ।
श्वतेपत्रमा बोर्डले आर्थिक वर्ष २०८१/०८२ को फागुनसम्म १६ अर्ब ४५ करोड रुपैयाँ भुक्तानी दिन बाँकी रहेको, सेवा ७७ जिल्लाका ७४९ स्थानीय तहमा फैलिएको, कुल ८९ लाख ५२ हजार १३५ जना बिमित रहेको र त्यस मध्ये ५७ लाख ५३ हजार ८१७ बिमित सामान्य क्रियाशील रहेको श्वेतपत्रमा भनेको छ। बोर्डले सबै स्थानीय तहमा प्रथम सेवा बिन्दु सञ्चालनमा ल्याउने योजना बनाएको छ।
श्वेतपत्र जारी गर्दै बोर्डका कार्यकारी निर्देशक डा. रघुराज काफ्लेले स्वास्थ्य बीमा कार्यक्रमलाई सुधार गर्ने योजना अघि सारे। उनले हाल बीमामा केही समस्या रहेको भएपनि ब्यवस्थित बनाउने योजनामा सबैको साथ आवश्यक रहेको बताए ।
हाल स्वास्थ्य बीमा वापत एक परिवारले औसतमा ३८ सय प्रिमियम वापतको रकम भुक्तानी गर्ने गरेको तर बीमाबाट प्रतिपरिवारले सेवाको भुक्तानी औसतमा ८३ सय ५० लिइरहेको डा काफ्लेले बताए।
स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक डा काफ्लेले हाल कुल बिमितमध्ये ४८ प्रतिशतले सेवा लिने गरेका कारण बीमाको भार बढेको र सबैको योगदान भए यो अवस्था सहज हुनेसमेत बताए।
‘कुल बिमित मध्ये आधा जसो बिमितले सेवा लिइरहेका छन, यहाँ बिरामी भए पनि नभए पनि उपचार गराउने ट्रेण्ड बढ्दा बीमाको भार पनि बढ्दो छ, तर सबैको योगदान हुनुपर्छ भन्ने भयो भने सुधार हुन्छ, ब्यवस्थित हुन्छ।´ निर्देशक काफ्लेले पत्रकार सम्मेलनमा भने।
बोर्डका अध्यक्ष चन्द्र बहादुर थापाले स्वास्थ्यका क्षेत्रमा छरिएका बीमाका विभिन्न कार्यक्रमलाई एकीकरण गरेर वित्तीय स्रोत व्यवस्थापन गर्ने योजना सुनाए। यस्तै प्रदेश सरकार र स्थानीय सरकारको योगदानलाई पनि स्वास्थ्य बीमामा ल्याइनु पर्ने उनले बताए।
यस्तै स्वास्थ्य बीमालाई सहज र दीगो बनाउन पेट्रोलियम पदार्थ उपभोग, रिचार्ज कार्ड प्रयोग, हवाई उडान, विद्युतीय बैंकिङ कारोबार लगायतका क्षेत्रबाट उठने केही प्रतिशत कर स्वास्थ्य बीमा कोषमा राख्नुपर्ने बोर्डले जनाएको छ। सो विषयलाई स्वास्थ्यमन्त्री प्रदीप पौडेललेसमेत उठाउँदै आइरहेका छन।
बोर्ड स्थापनाको नौ वर्ष पुग्दासमेत स्वास्थ्य बीमा बोर्डको स्थायी संरचना स्वीकृत भएको छैन। करार संरचनाकै भरमा बोर्डले काम कारवाही गर्दै आइरहेको छ। यस्तै करारमा रहेका कर्मचारीको छिटोछिटो हुने फेरबदलका कारण कार्यसम्पादनमा समेत बोर्डले नकरात्मक असर भोगिरहेको छ।
हेरौं श्वेतपत्र :
















