भक्तपुर। बागमती प्रदेशका स्वास्थ्य मन्त्री किरण थापाले मानव कल्याण समाजको भवन निर्माणका लागि आगामी वजेटमा रकम ब्यवस्थापन गर्ने बताएका छन।
सडक मानवको सहयोगार्थ भक्तपुरको राधेराधेमा आयोजना भैरहेको `श्रीमद्भागवत सप्ताह ज्ञान विज्ञान महायज्ञ २०८१´ मा मन्तव्य राख्दै मन्त्री थापाले समाजलाई भवन निर्माणका लागि जग्गा प्राप्तिको लागि पहल गर्न आग्रह गरे।
`जग्गा प्राप्ति भयो भने बागमती सरकारले आवश्यक बजेट ब्यवस्थापन गर्ने गरेर भवन निर्माण गर्न सकिन्छ, प्रदेश सरकारबाट आगामी बजेटमा भवन निर्माणका लागि आवश्यक रकम बिनियोजन गराउने गरेर म लागेको छु।´ मन्त्री थापाले भने।
आश्रमले अनाथ ब्यक्तिहरुका लागि आफ्नै पहलमा खाना, नाना र छानाको ब्यवस्था गरिरहेको भन्दै उनले प्रशंसासमेत गरे।
`जेष्ठ नागरिकालाई आफ्नै घर बराबरको स्नेह, औषधि उपचारको ब्यवस्था, बेवारिसे बालबालिकालाई हेरचाह गर्ने काम मानव कल्याण समाजले गरिरहेको छ, अलपत्र परेका ब्यक्ति, झाडिमा छाडिएका बच्चाहरुलाई मानव सेवा आश्रममार्फत शिक्षादीक्षा गर्ने काम समाजले गरिरहेको छ,´ मन्त्री थापाले भने,`कोही दाता आइदिएर दान दिएर उपचार गरिदेला भनेर अब कुर्नु पर्दैन, बागमती प्रदेश सरकार त्यसको ब्यवस्थापन गर्नका लागि लागेको छ।´
आफुले बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयको नेतृत्व सम्हालेपछि समाजमा आश्रय लिएकाहरुको औषधि उपचार खर्च ब्यवस्थापन गरेकोसमेत उनले बताए।
थापाले आगामी आर्थिक वर्षको बजेटमा आश्रमम आस्रित ब्यक्तिहरुको बागमती सरकारले निशुल्क उपचार गर्ने गरि बजेटको ब्यवस्थापन गर्ने गरेर नीति तथा कार्यक्रम पारित गर्ने तयारी गरेको पनि बताए।
महायज्ञमा मन्त्री थापाले समाजका लागि १ लाख ११ हजार १११ रुपैयाँ सहयोगको घोषणासमेत गरे। २७ गतेसम्म चल्ने महायज्ञमा संस्थाका संस्थापक अध्यक्ष देवी सुमी मानवबाट कथा वाचन भैरहेको छ।
महायज्ञमार्फत सडक तथा सार्वजनिक स्थलहरूमा अलपत्र तथा बेवारिसे अवस्थामा रहेका मानवहरूको लागि दीगो रूपमा खाना, नाना र छानाको व्यवस्थापन गर्ने लक्ष्य राखिएको तथा प्रभावकारी सेवाका लागि जग्गा तथा भवन व्यवस्थापन गर्ने लक्ष्य राखिएकोे प्रचारप्रसार उपसमितिका संयोजक पेशल आचार्यले जानकारी दिए।
२०७४ सालमा स्थापना भएको संस्थाले बेवारिसे मानवहरूको उद्धार गर्दै उनीहरूको सरसफाइ, स्वास्थ्य उपचार, पुनर्मिलन, काउन्सिलिङ तथा सुधारका लागि विभिन्न प्रयासहरूलाई निरन्तरता दिदै आएको छ।



