भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा जजिरा, फ्लाई दुबई र थाइ एयर एसियाले ब्यवसायिक उडान गर्ने भएका छन्।
निर्माण सम्पन्न भएको लामो समयसम्म पनि व्यावसायिक अन्तर्राष्ट्रिय उडान हुन नसक्दा सो विमानस्थल सुनसान रहँदै आएको छ। हालका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री पाण्डेको प्रयासपछि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय व्यावसायिक उडान हुन लागेको हो।
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीका अनुसार कुवेतको जजिरा, दुवईको राष्ट्रिय ध्वजावाहक फ्लाई दुबई र थाइल्यान्ड मुख्यालय रहेको थाइ एयर एसियाले गौतमबुद्ध विमानस्थलमा उडान गर्न लागेका हुन्।
यी तीन वटै एयरलाइन्सले नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणबाट उडान अनुमति लिइसकेको तिवारीले जानकारी दिए।। उडानका लागि तालिकासमेत बनिसकेको छ।
जसअनुसार फ्लाई दुवईले आगामी २४ कार्तिकदेखि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबात नियमित उडान सुरु गर्नेछ। फ्लाइ दुवईले हप्तामा सातै दिन सो विमानस्थलबाट उडान गर्ने गरेर अनुमती लिएको हो।
फ्लाई दुबईले दुबई–भैरहवा र भैरहवा–काठमाडौं–दुबई उडान गर्ने छ। तिवारीका अनुसार फ्लाई दुबईको विमान दुबईबाट दिउँसो १ः४५ बजे भैरहवा आएर ३ः३० मिनेटमा काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै दुबई जाने उडान तालिका प्राधिकरणबाट अनुमति पाएको छ।
यस्तै, जजिरा एयरले १२ कात्तिकदेखि पुनः उडान सञ्चालन गर्दैछ। यसअघि सो एयरलाइन्सले १० महिना उडान गरेर उडान स्थगित गरेको थियो। जजिराले सातामा तीन दिन मंगलबार, बिहीबार र शनिबार उडान भर्नेछ। सो विमाने बिहान ७ बजेर ३० मिनेटमा भैरहवा आएर ८ बजेर ३० मिनेटमा कुवेत उड्ने तालिका प्राधिकरणबाट अनुमति पाएको छ।
जजिराले २ जेठ २०७९ मा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन भएसँगै भैरहवामा उडान थालेकोमा पछि प्राविधिक कारण देखाउँदै उडान स्थगित गरेको थियो।
यस्तै थाई एयर एसियाले पनि छिट्टै गौतमबुद्ध विमानस्थलमा उडान गर्ने भएको छ।
गत १६ असोजबाट नेपालमा सिधा हवाई उडान सुरु गरेको थाई एयर एसियाले गौतमबुद्ध विमानस्थलमा पनि उडान सञ्चालन गर्न लागेको हो। वार्षिक ४० हजारभन्दा बढी थाइल्यान्डका पर्यटकले नेपाल भ्रमण गर्ने गरेका छन्। नेपालबाट पनि उल्लेख्य संख्यामा पर्यटक थाइल्यान्ड पुग्ने गरेका छन्।
थाई एयर एसियाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) शान्तिसुक क्लोडचैयाले नेपाल र थाइल्यान्डबीच हवाई सम्पर्क सञ्जाल नमात्रै नभएर दुई देशबीचको सांस्कृतिक र जनस्तरको सम्बन्धलाई प्रगाढ तुल्याउन उडानले महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे।
अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका लागि आवश्यक पर्ने अध्यागमन, भन्सार, सुरक्षा लगायतका व्यवस्थापकीय काम दुरुस्त अवस्थामा रहेको विमानस्थलले जनाएको छ।
अध्यागमन कार्यालय, गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका निमित्त प्रमुख अध्यागमन अधिकृत विष्णुप्रसाद ढुंगानाले जजिरा एयरलाइन्स र फ्लाई दुबईले छिट्टै उडान गर्ने भएकाले सोही बमोजिम आवश्यक तयारी भइरहेको जानकारी दिए।
विमानस्थलमा अध्यागमनको सेवालाई चुस्त र प्रभावकारी बनाउने उद्देश्यले हालै अध्यागमन विभागका महानिर्देशकसहितको टोलीले गौतमबुद्ध विमानस्थलको स्थलगत निरीक्षण समेत गरेको थियो ।
सरकारले राष्ट्रिय गौरवको आयोजना गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा अन्तर्राष्ट्रिय विमानस्थललाई पूर्ण क्षमतामा सञ्चालनका लागि कार्ययोजनासहित प्रक्रिया अगाडि बढाएको छ।
सोही योजना अनुरुप अन्तर्राष्ट्रिय एयरलाइन्सले धमाधम उडान गर्न लागेका हुन्। अन्य एयरलाइन्सले पनि उडानका लागि चासो देखाएको विमानस्थलका अधिकारीले बताएका छन्। निर्माण सम्पन्न भएर लामो समयदेखि नियमित अन्तर्राष्ट्रिय उडान हुन नसकेका ती दुई विमानस्थल सञ्चालनका लागि सरकारले विभिन्न सेवामा एयरलाइन्सलाई सहुलियत लगायतका आकर्षक प्याकेज घोषण गरेको छ।
गत २८ साउनमा बसेको मन्त्रिपरिषद् बैठकले नागरिक उड्डयन क्षेत्रको समग्र सुधारसम्बन्धी कार्ययोजना स्वीकृत गर्दै गौतमबुद्ध र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनसम्बन्धी कार्ययोजना स्वीकृत गरेको थियो। अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण क्षमतामा सञ्चालन गर्न हवाई इन्धनदेखि टिकट सहुलियत दिने सरकारको योजना छ।
दुई विमानस्थल प्रभावकारी सञ्चालनका लागि प्रधानमन्त्रीको नेतृत्वमा सम्बन्धित मन्त्रालयका मन्त्री र पदाधिकारीसहित विभिन्न चरणमा बैठक भएका छन्। दुवै विमानस्थल पूर्ण क्षमतामा सञ्चालन गर्ने विकल्प र उपायहरुबारे अध्ययन गर्न बनेको कार्यदलले दिएका सुझावका आधारमा सहुलियत दिनेबारे छलफल भइरहेको जनाइएको छ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका अनुसार दुवै विमानस्थल प्रभावकारी सञ्चालनमा ल्याउन हवाई टिकट, ग्राउन्ड ह्यान्डलिङ, हवाई इन्धनमा आगामी २०८३ को भदौसम्म सहुलियत दिने कार्ययोजना बनाइएको छ।
पर्यटन बोर्डले प्रतिटिकट लिने शुल्क पनि उक्त समयभर दुई विमानस्थलको हकमा नलिने गरी सहुलियत दिने र हवाई टिकटमा लगाइएको भ्याट पनि विस २०८३ भदौसम्म नलिने जनाइएको छ। उद्योग वाणिज्य मन्त्रालयसँगको समन्वयमा काठमाडौंको विमानस्थलमा उपलब्ध हुने इन्धनको मूल्यभन्दा भैरहवामा सस्तोमा लिनेगरी कार्ययोजना बनाइएको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको ७४ वर्षपछि मुलुकभित्र अर्को नयाँ अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको थियो। सन् १९५८ जुलाई ४ मा भैरहवा आन्तरिक विमानस्थलको रुपमा सञ्चालनमा आएको थियो। सोही विमानस्थललाई विस्तार गरेर अन्तर्राष्ट्रिय विमानस्थल बनाइएको हो।



