काठमाडौं। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निर्धारित २४ वटा सार्वजनिक बिदाहरुमा ओपीडी सेवा संचालन गर्न सरकारी अस्पतालहरुलाई आग्रह गरेको छ।
मन्त्रालयले सार्वजनिक बिदाका दिन ओपीडी सेवा सञ्चालन गर्ने सरकारको निर्णय कार्यान्वयन गर्न अस्पतालहरूलाई विज्ञप्ति जारी गर्दै आग्रह गरेको हो। सार्वजनिक बिदाका दिनमा ओपीडी सञ्चालन गर्दा सर्वसाधारणका लागि सुविधा हुने मन्त्रालयले भनेको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले गत ७ भदौमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई पत्राचार गर्दै सार्वजनिक बिदाका दिनमा पनि ओपीडी सञ्चान गर्ने गरी व्यवस्था मिलाउन निर्देशनात्मक आदेश दिएको थियो। सोही अनुसार मन्त्रालयले यसअघि १६ भदौमासमेत अस्पतालहरुलाई परिपत्र गरेको थियो।
मन्त्रालयले मंगलबार जारी गरेको विज्ञप्तिमा ‘२९ माघ २०८० मा गृह मन्त्रालयको सूचना नम्बर १ को खण्ड ७३ को संख्या ५४ अन्तर्गत नेपाल राजपत्र भाग ५ मा प्रकाशित सूचनाको बुँदा १० मा सार्वजनिक सेवा प्रवाह सम्वन्धि विशेष व्यवस्था भएअनुसार स्वास्थ्य संस्थाहरूमा सामान्य दिनसरह सबै प्रकारका स्वास्थ्य सेवा सुचारु रहने’ उल्लेख छ। तर चिकित्सक संघले भने सो निर्णयको विरोध गर्दै आइरुहेको छ।
कुन कुन सार्वजनिक बिदामा खुल्छन् ओपीडी?
(क) पर्व बिदा
१. रामनवमी, २. चण्डी पूर्णिमा (वैशाख पूर्णिमा), उभौली पर्व, ३. रक्षाबन्धन, ४. श्रीकृष्ण जन्माष्टमी, ५. घटस्थापना, ६. क्रिसमस डे, ७. धान्य पूर्णिमा उँधौली पर्व र योमरी पुन्ही (ज्यापु दिवस), ८. तमु ल्होसार, ९. माघी पर्व र माघे सङ्क्रान्ति, १० सोनम ल्होसार, ११. महाशिवरात्री, १२. ग्याल्पो ल्होसार, १३. ईद (ईद उल फित्र), १४. वकर ईद (ईद उल अजहा)
(ख) जात्रा बिदा
१. गाईजात्रा, २. इन्द्रजात्रा, ३. मत्स्येन्द्रनाथको भोटो देखाउने जात्रा ४. घोडेजात्रा बिदा
(ग) सार्वजनिक दिवस
१. गणतन्त्र दिवस, २. सहिद दिवस, ३. राष्ट्रिय प्रजातन्त्र दिवस ४. अन्तर्राष्ट्रिय महिला दिवस
(घ) जन्मजयन्ती बिदा
१. बुद्ध जयन्ती, २. पृथ्वी जयन्ती (राष्ट्रिय एकता दिवस)



