म्याग्दी। बडा दशैँको नवमीमा बली चढाइने सरकारी राँगोलाई मार हान्न म्याग्दीमा चार लाख ७१ हजारको बोलकबोल भएको छ।
म्याग्दीको रघुगङ्गा गाउँपालिका-२ को राखु भगवती कोत मन्दिरमा नवमीका दिनमा दिइने बलीका लागि सरकारी राँगो मार हान्न चार लाख ७१ हजारको बोलकबोल भएको हो । राँगोलाई मार हान्नका लागि बिहीबार राती कालरात्रिमा बोलकबोल गराइएको थियो। सो मन्दीरमा यो प्रचलन परम्पराकै रुपमा रहँदै आएको छ।
कालरात्रिमा खुला बोलकबोलमार्फत सरकारी राँगोको मार हान्ने कार्यका लागि करिब ४५ मिनेट बोलकबोल चलेको थियो। बोलकबोलका लागि तीन जना प्रतिस्पर्धामा आएका थिए।
प्रतिस्पर्धाका क्रममा रघुगङ्गा गाउँपालिका-३ अक्षताका सोवित भण्डारीले सबैभन्दा धेरै कबोल गरेपछि उनले नै मार हान्नका लागि अवसर पाएको भगवती कोत मन्दिर पूजा व्यवस्थापन समितिका अध्यक्ष देवेन्द्रबहादुर मल्लले जानकारी दिए ।
बोलकबोलमा भगवतीका रमेश कटुवाल र अक्षताका भण्डारीबिच प्रतिस्पर्धा हुँदा समितिले तीन मिनेटको समय दिएको थियो । अन्तिममा लिखित रूपमा भएको बोलकबोल भण्डारीको पक्षमा गएको थियो।
सबैभन्दा बढी रकम कबोल गर्ने व्यक्तिलाई नै मार हान्न दिने परम्पराअनुसार नवमीको मार हान्ने व्यक्तिको टुङ्गो लगाइएको भगवतीका वडा अध्यक्ष अमृत भण्डारीले जानकारी दिए ।
गत वर्षको नवमीमा एकेन्द्र भण्डारीले सबैलेभन्दा धेरै तीन लाख ३० हजार रकम तिरेर सरकारी मार हानेका थिए । यस क्षेत्रकै शक्तिपीठ मानिने भगवती कोतमा यसअघि २०७९ सालको नवमीमा तीन लाख १५ हजार, २०७८ सालको दशैँको नवमीमा भगवतीमा तीन लाख, २०७६ सालमा दुई लाख ८० हजारमा मार हानेका थिए ।
नवमीको दिन बली दिइने राँगो मार हान्ने व्यक्तिहरुको मनोकांक्षा पूरा हुने जनविश्वासका कारण आकांक्षीहरू धेरै हुने भएकाले खुला बढीबढाउमार्फत छनौट गरिँदै आइएको भगवती कोतमन्दिर पूजा व्यवस्थापन समितिका अध्यक्ष मल्लले जानकारी दिए ।
भगवती कोत मन्दिरमा कालरात्रिमा कोटमन्दीरमा सर्वसाधारणको बिचमा खुल्ला बोलकबोल गर्ने परम्परागत छ। कोत मन्दिरमा सरकारी राँगो काटेपछि मनले आँटेको पुग्छ भन्ने जनविश्वास छ।
तत्कालीन बाइसे/चौबीसे राज्यकालदेखि यहाँको कोतमन्दिरमा बढीबढाउ गरी राँगो हान्ने चलन छ। नवमीका दिन कोत मन्दिरमा सरकारी मार हानेपछि पूजा व्यवस्थापन समिति, आफन्तजन र गाउँलेहरूले सरकारी मार हान्ने व्यक्तिको टाउकोमा फेटा गुथाएर बाजागाजासहित सम्मान गर्ने चलन छ।



