काठमाडौं। गत ११ र १२ असोजको बाढी तथा पहिरोका कारण अबरुद्ध भएको वीपी राजमार्ग आज विहानबाट एकतर्फी सुचारु भएकोमा पुनः अबरुद्ध भएको छ।
वीपी राजमार्ग अन्तर्गत पर्ने रोशी गाउँपालिका ११ बुलढुंगामा सुख्खा पहिरो गएपछि खुलेकै दिन दुई घण्टामा पुनः वीपी राजमार्ग अबरुद्ध भएको हो। पहिरोले एउटा बस रोशी खोलामा खसेको छ भने एउटा टाटासुमोमा पुरेको छ। यस्तै सुख्खा पहिरोले बाटो खुलाउन प्रयोग गरिएको एउटा जेसीबी पनि लडाएको छ।
जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार सिन्धुलीबाट काठमाडौंतर्फ आउँदै गरेको बा ४ ख ४३५२ नम्बरको बसलाई पहिरोले रोशी खोलामा खसालेको छ भने खोटाङबाट काठमाण्डौंतर्फ आउँदै गरेको ना १ ज- ६८१७ नम्बरको सुमोलाई पहिरोले पुरेको प्रहरीले जनाएको छ। घटनामा मानवीय क्षति भने नभएको प्रहरीको जनाएको छ।
बिहीबार बिहान करिब तीन बजे पहिरो खसेको हो। पहिरोले बसलाई सडकबाट झण्डै २० मिटर तल खसालेको छ। त्यसैगरी पहिरोले पुरेको सुमोको भने पछाडिको भाग मात्रै देखिएको छ।
‘बीपी राजमार्ग अन्तर्गतकै नमोबुद्ध तेमाल हुँदै मंगलटार जाने कच्ची सडक खण्ड र रोशी गाउँपालिका ११ पिप्लेस्थित बीपी राजमार्गमा पुनः सुख्खा पहिरो झरिरहेकोले तत्कालको लागि दुईतर्फी नै सडक अवरुद्ध रहेकाले यात्रा नगर्न अनुरोध छ,’ जिल्ला प्रहरी कार्यालय काभ्रेले केही बेरअघि जारी गरेको सूचनामा भनिएको छ।



