काठमाडौं। काठमाडौंबाट सडकमार्ग हुँदै आठ लाख भन्दा बढी ब्यक्ति दशैँ मान्न घर फर्किएका छन।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अनुसार बिहीवार साँझसम्म आठ लाख भन्दा बढी यात्रुले काठमाडौं छाडेका हुन।
यस वर्ष सडकमार्ग हुँदै १० लाखले काठमाडौं छाड्ने महासंघको अनुमान छ।
महासंघका अध्यक्ष विजय स्वारले यस वर्षको दशैँमा १५ देखि १८ लाख यात्रु उपत्यका बाहिरिने अनुमान गरिए पनि बाढी पहिरोका कारण धेरैले काठमाडौंमा नै दशैँ मनाउने अवस्था देखिएको जानकारी दिए।
काठमाडौंबाट पुर्वी नेपाल जाने मुख्य सडक वीपी राजमार्ग पुर्ण रुपमा बन्द छ। यस्तै काठमाडौंबाट हेटौंडा हुँदै बाहिरिने सडकसमेत भर्खरै संचालनमा आए पनि धेरैले यात्रामा जोखिम मोल्न नचाहेको देखिएको छ।
‘सडकको अवस्था राम्रो नहुँदा काठमाडौंबाट बाहिरिने यात्रुहरु पहिले जस्तो छैनन, यसपटक धेरैले काठमाडौंमा नै दशैँ मनाउने योजना बनाएको पाइयो,´ स्वाँरले भने।
उनले शुक्रबारसम्म काठमाडौ छाड्नेको यकिन संख्या आउने जानकारी दिए।



