काठमाडौं। नेपाली सेनाले बडादशैँमा घर जाने सैनिक तथा आश्रित परिवारलाई यातायात सुविधा दिएर घरसम्म पुर्याएको छ।
नेपालीहरुको महान् चाड बडादशैँमा घर बिदा जाने नेपाली सेनाका सकलदर्जा तथा तिनका आश्रित परिवारजनलाई सैनिक कल्याणकारी कार्य अन्तर्गत सेनाले घर पुर्याउने ब्यवस्था गरेको हो।
सैनिक मुख्यालयका अनुसार १८ असोजबाट मुलुकका विभिन्न स्थानहरुमा सहुलियतको यातायात सुविधा (स्थल तथा हवाइ) सञ्चालन गरिएको हो।
सडक सञ्जालको पहुँच पुगेका स्थानहरूमा सवारी साधन (बस) मार्फत एकहजार २३० जना र सडक सञ्जालको सहज पहुँच नपुगेका तथा दुर्गम पहाडी/हिमाली क्षेत्रहरू लगायत लामो दुरीका गन्तव्यहरुमा हवाई उडानमार्फत ७२१ जना गरी हालसम्म एक हजार ९५१ जना सकलदर्जा एवं आश्रित परिवारहरूले यातायात सुविधा मार्फत यात्रा गरिसकेको सैनिक मुख्यालयले जनाएको छ।
सो सुविधा आगामी आज बिहिबरसम्म सञ्चालन हुनेछ ।
सेनाले कल्याणकारी कार्य अन्तर्गत बहालवाला/भू.पू. सैनिक तथा तिनका आश्रित परिवारजनलाई लक्षित गरी विविध सैनिक कल्याणकारी कार्यहरु सञ्चालन गर्दै आइरहेको छ ।



