काठमाडौं। गत १०,११ र १२ असोजका दिन आएको भीषण वर्षापछिको बाढीपहिरोले देशका विभिन्न खानेपानी आयोजनामा क्षति पुर्याउँदा २५ लाख जनसंख्यालाई प्रत्यक्ष रुपमा खानेपानीको समस्या भएको छ।
बाढिपहिरोले देशका १६ सयभन्दा बढी खानेपानी आयोजनामा क्षति पुर्याउँदा करिब ६ अर्ब बराबरको क्षती भएको खानेपानी मन्त्रालयले प्रारम्भिक तथ्यांक निकालेको हो।
प्रारम्भिक तथ्यांक अनुसार भीषण वर्षापछि आएको बाढीपहिरोले १ हजार ६१६ आयोजनामा क्षति पुगेको छ।
जसअनुसार ५८ जिल्लाका ५ लाख घरधुरी प्रभावित भएको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका सीडीई वीरेन्द्र कँडेलका अनुसार काठमाडौं, ललितपुर, भक्तपुर, काभ्रे, सिन्धुपाल्चोक, धादिङ, ताप्लेजुङ, पाँचथर, इलाम, रामेछाप, सिन्धुली, उदयपुर, सुनसरी लगायत जिल्लामा धेरै क्षति पुगेको छ।
उनका अनुसार सबैभन्दा धेरै क्षति काठमाडौं उपत्यका खानेपानी लिमिटेडको केयूकेएलको १ अर्ब रुपैयाँ रहेको छ। काभ्रेको तेमाल खानेपानी आयोजनामा १० करोड क्षति पुगेको छ।
मन्त्रालयका अनुसार देशभरका विभिन्न आयोजनाहरूमा इन्टेक, सम्प बेल, पाइपलाइन, पानी ट्यांकी, प्रशोधन प्लान्टमा क्षति पुगेको छ।
यस्तै जीआई पाइप, एचडीपीई पाइपहरू बगाएको छ। फोहोर पानी प्रशोधन प्लान्टहरूमा क्षति पुगेको भन्दै मन्त्रालय संरचनामा क्षति पुर्याए पनि यकिन विवरण अहिलेसम्म संकलन गर्न सकेको छैन । पुर्ण विवरण आउन बाँकी छ।
‘यो प्रारम्भिक जानकारीबाट आएको तथ्याँक हो, अझै केही क्षतिका विवरण नआएको हुनसक्छ, खानेपानीको आपूर्ति सहज गर्न मन्त्रालयले जतिसक्दो काम गरिरहेको छ,’ कँडेलले भने।
अविरल वर्षाले देशभरिका खानेपानी प्रणालीमा गम्भीर प्रभाव परेको खानेपानी मन्त्री प्रदीप यादवले बताए।
बाढीपहिरो गएकै दिन मन्त्रालयमा आकस्मिक बैठक डाकेर प्रणालीको क्षति र पुनर्स्थापनाका रणनीतिमा छलफल गरेर काम गरिरहेको मन्त्री यादवको भनाइ छ।
खानेपानी आयोजनाको मर्मत कार्यलाई छिटो सम्पन्न गरेर जनतालाई नियमित पानी आपूर्तिमा कुनै बाधा नपुग्ने सुनिश्चित गर्न, आवश्यक प्राविधिक सहायता र स्रोतसाधन तुरुन्त परिचालन गर्ने निर्देशन दिइसकेको उनले बताए ।



