मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

गौशाला धर्मशाला प्रकरण : हतारमा सरकार र उत्तेजनामा मारवाडी

गौशाला धर्मशाला प्रकरण : हतारमा सरकार र उत्तेजनामा मारवाडी

images
२०८१ आश्विन २३ गते, बुधवार
२०८१ आश्विन २३ गते, बुधवार
  • काठमाडौँ । लामो समयदेखि मारवाडी सेवा समिति नेपालले सस्तोमा भाडामा लिएर सञ्चालन गर्दै आएको पशुपति क्षेत्रमा रहेको धर्मशाला महानगर प्रहरीले खाली गराएको छ । बुधबार महानगरपालिकाका नगर प्रहरीले मारवाडी सेवा समितिको बोर्ड हटाएर आफ्नो बोर्ड राखेको छ ।

    images

    मारवाडी सेवा समितिले गरेको विरोधको बाबजुद महानगरको टोलीले बल प्रयोग गरेर काठमाडौं महानगरको बोर्ड राखेको छ । धर्मशाला बाहिर भने मारवाडीहरुले नारा जुलुस लगाएका थिए । महानगरपालिकाले पशुपति क्षेत्रको गौशाला धर्मशाला खाली गराउन ८ नम्बर वडाध्यक्ष आशमान संगत र नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेको टोली धर्मशाला पुगेको थियो । महानगर प्रहरीले १० बजेसम्म धर्मशाला खालि गराउन माइकिङ गरे पनि नहटाएपछि महानगर प्रहरीले खालि गराएको हो ।

    images

    मारबाडी सेवा समितिले यस अघिको कररा बदर गरी पाउँ भनी काठमाडौँ जिल्ला अदालतमा पशुपति विकास कोष विरुद्ध दायर मुद्दामा यही असोज १६ गतेको फैसलामा समितिको दाबी नपुग्ने ठहर गरेपछि परिषद्ले सो निर्णय गरेको हो । तर सरकारको निर्णयविरुद्ध मारवाडी समितिले विरोधमा छ ।

    मारवाडी समितिका कैलाशचन्द्र गोयलले सरकारको निर्णयले अन्याय गरेको बताए । उनले अदालतको पूर्ण पाठ आइनसकेको र पुनरावेदन गर्न पाउने अधिकार हुँदाहुँदै सरकारले हतारमा निर्णय गरेको बताए । समितिका अर्का अगुवा प्रमोद कुमार अग्रवालले आफूहरुले जग्गा भाडामा, लिजमा लिएको भन्ने नभइ सहयोग सम्झौता भएको उल्लेख गरे । कोषको स्थापनाभन्दा अघि आफूहरुले गौशाला संचालनमा ल्याएको, आफूहरुले सेवा गरिरहेको तर गलत प्रचारबाजी भएको बताए । हामी मोहीका हकवाला हौं । वाली बुझाइरहेका छौं । पछि अलग्गै सम्झौता पनि भइसकेको छ तर सरकारले छलकपट गरेर आफूहरुलाई अन्याय गरेको हो,’ उनले भने ।

    मारवाडी सेवा समितिले २०६० मा श्रीपशुपतिनाथ अमालकोट कचहरी (हाल पशुपति क्षेत्र विकास कोष) सँग भएको सम्झौता अनुसार वार्षिक ५१ हजार रुपियाँ ‘सहयोग’ बुझाएर होटल, लज, रेस्टुरेन्ट, डायलासिस सेन्टर र जर्सी गाई पालेर व्यापार गरी पशुपतिको सम्पत्तिमा रजाइँ गर्दै आएको थियो ।

    संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री एवं पशुपति क्षेत्र विकास कोषका अध्यक्ष बद्रीप्रसाद पाण्डेले पशुपति गौशाला धर्मशालाका सन्दर्भमा अदालतले गरेको फैसलाअनुसार नीतिगत निर्णय गरेकाले अब कार्यान्वयन प्रक्रिया सुरु गरिएको जानकारी दिए । उनले अब सरकारी निकायसँगकै समन्वय र सहकार्यमा धर्मशाला सञ्चालन हुने र फैसलाको कार्यान्वयन प्रव्रिmया अघि बढाउने जिम्मेवारी कोषको व्यवस्थापनले नै गर्ने बताए ।

    ‘कोषका सदस्य सचिव डा. मिलनकुमार थापाका अनुसार कोष र महानगरपालिकाबिच भएको सहमतिमा काठमाडौँ महानगरपालिका–८, स्थित (साबिक पशुपति वडा नं. २ (क) कित्ता नम्बर ८३ को चार आना १५ पैसा दुई दाम, कित्ता नम्बर ८५ मा चार रोपनी १० आना र हाल वडा नं। ८ कित्ता नम्बार ३ को तीन रोपनी पाँच आना तीन पैसा तीन दाम कित्ता नम्बर १५ को चार रोपनी आठ आना एक दाम र कित्ता नम्बर १६ को ११ आना एक पैसा तीन दामको घरजग्गामा सञ्चालन गर्न सम्झौता भएको छ ।

    डा.थापाले गौशाला चोकस्थित पशुपति गौशाला धर्मशालाको घरजग्गालाई काठमाडौँ महानगरपालिकाले गौशाला धर्मशाला तथा सामाजिक, धार्मिक कार्य तथा सेवाका लागि आवश्यक पूर्वाधारको विकास गरी सञ्चालन तथा व्यवस्थापन गर्ने सहमति भएको बताएका छन् । सहमतिपत्रमा घरजग्गा गैरनाफामूलक प्रयोजन, गौशाला धर्मशालाका रूपमा सञ्चालन व्यवस्थापन गरी धार्मिक सामाजिक कार्यमा उपयोग गर्ने समझदारी भएको छ । सहमतिपत्रमा गौशाला सञ्चालन गर्ने, पशुपतिनाथ मन्दिरमा आउने श्रद्धालु भक्तजनलाई निःशुल्क भोजन, अन्नदान स्वीकार गर्ने तथा आवास सेवा सञ्चालन गर्ने धर्मशाला सञ्चालन, निःशुल्क सार्वजनिक शौचालय सञ्चालन गर्ने भनिएको छ ।

    डा.थापाका अनुसार निःशुल्क आधारभूत स्वास्थ्य सेवा सञ्चालन, विपत्मा परेका मानिसका लागि मानव सेवा व्यवस्थापन, सूचना केन्द्र सञ्चालन, सार्वजनिक पुस्तकालय स्थापना तथा सञ्चालन, सहरी स्वास्थ्य प्रवर्धन केन्द्र सञ्चालन र व्यवस्थापन समितिले उपयुक्त ठहर गरेका अन्य सामाजिक तथा धार्मिक कार्यक्रम सञ्चालन गर्ने सहमति भएको छ ।

     

    "

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend