काठमाडौं। भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अब थोरै भिजिबिलिटी भए पनि विमान अवतरण गर्न सक्ने भएको छ।
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा आरएनपी–एआर (रिक्वायर्ड नेभिगेसन पफर्मेन्स–अथोराइजेसन रिक्वायर्ड) प्रणाली सुरु भएसँगै कम भिजिविलिटीमा विमान अवतरण गर्न सक्ने भएको हो।
नेपाल नागरिक उड्डयन प्राधिकरणले सो प्रणालीबाट उडान तथा अवतरण गर्न अनुमति प्राप्त गरेको पाइलट र जहाजलाई उडान र अवतरणको अनुमति दिने भएको हो। तर अनुमति नलिएका विमान भने यो प्रणालीअनुसार अवतरण गराउन पाइने छैन।
यसअघि सो प्रणाली संचालन अनुमति नहुँदा कार्यान्वयनमा आउन सकेको थिएन भने विमान अवतरण हुन १८ सय भन्दा बढि भिजिबिलीटी आवश्यक थियो।
नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता ज्ञानेन्द्र भुलले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अब कम भिजिबिलीटीमा नै विमान अवतरण गर्न सक्ने जानकारी दिए।
उनका अनुसार अब विमानका पाइलटले सो विमानस्थलमा विमानलाई ८०० मिटरको भिजिविलिटीमा नै अवतरण गराउन सक्ने छन। स्याटेलाइटमा आधारित भएकोले यसलाई सहजै प्रयोगमा ल्यौन सकिन्छ।
यसका लागि ग्राउन्डमा कुनै पनि उपकरण जडान गर्नु नपर्ने बताइएको छ। यो प्रणालीबाट विमान अवतरण गराउन आरएनपीएआर अनुसार उडान तथा अवतरणका लागि विमानमा सो प्रणालीका लागि पूर्वाधार निर्माण गर्नुपर्नेछ।
यस्तै यो प्रणाली संचालन गर्न पाइलटले समेत तालिम लिनु पर्ने छ। यो दुबै प्रक्रिया पूरा गरेपछि सो प्रणालीबाट गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा कम भिजिविलिटी हुँदा विमान अवतण नभएर फर्कनु पर्ने छैन।
भारतले आईएफआर प्रणाली जडान गर्ने अनुमति नदिएपछि प्राधिकरणले यो विकल्प कार्यान्वयनमा ल्याएको हो। आईएफाआर जडान भए अझै कम भिजिबिलिटीमा विमान अवतरण गराउन सकिन्छ।
नेपालसँग सीमावर्ती भारतीय सहर कुशीनगरमा अहिले विमानस्थल सञ्चालनमा रहेकोले भैरहवा विमानस्थल सञ्चालनमा सहयोग गर्दा यो विमानस्थलको ट्राफिक घट्नसक्ने, गोरखपुरमा भारतीय सेनाको क्याम्प र भारतीय एयरफोर्सको क्याम्पको सुरक्षामा समेत आँच निष्कर्ष सहित भारतले भैरहवा विमानस्थलमा आईएफाआर सञ्चालनमा लागि असहयोग गर्दै आएको भैरहवाका होटल ब्यवसायीहरु बताउँछन।



