काठमाडौं। सत्तारुढ नेपाली कांग्रेसले आफ्ना सांसदहरूलाई सरकारले ल्याएको अध्यादेशका विरुद्धमा बोल्न अंकुश लगाएको छ।
शनिबार सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बसेको काग्रेस बैठकले हालै सरकारले ल्याएको अध्यादेशका विरुद्ध संसदको थलोमा उभिएर फरक मत वा असहमति नराख्न आफ्ना सांसदलाई निर्देशन दिएको हो। बैठकमा स्रकारमा सहभागी केही मन्त्री र अध्यादेशका विषयमा असन्तुष्ट केही नेता तथा सांसदहरु थिए।
कांग्रेस प्रमुख सचेतक श्याम घिमिरेले अध्यादेशका विषयमा संसदमा एउटै स्वरका साथ प्रस्तुत हुने निर्णय भएको जानकारी दिए।
`संसद भित्र र संसद बाहिर अध्यादेशका विषयमा एउटै स्वरका साथ प्रस्तुत हुने निर्णय भएको छ, संसदीय दलमा अझै सघनरुपमा छलफल गर्ने र संसदमा जाने निर्णय भएको छ´ उनले भने।
काग्रेस बैठकमा सभापति शेरबहादुर देउवाले अध्यादेशका विषयमा आफ्ना फरक मत भए आन्तरिक बैठकमा राख्न नेताहरुलाई आग्रह गरेको घिमिरेले जानकारी दिए। तर बाहिर अध्यादेशको विरोध नगर्न देउवाको निर्देशन रहेको उनले प्रस्ट पारे।
आगामी माघ १८ गतेबाट संघीय संसद्को अधिवेशन सुरु हुँदैछ। सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले अधिवेशन आह्वान गरिसकेका छन्।
संसद् अधिवेशन बोलाउन सिफारिस गर्नु केही दिनअघि सरकारले ६ वटा विभिन्न अध्यादेश ल्याएको थियो। ती अध्यादेश पनि राष्ट्रपतिबाट जारी भइसकेका छन्।
संसद् छलेर सरकारले अध्यादेश ल्याएको भन्दै कांग्रेस भित्र केही असन्तुष्टिका आवाजहरु सुनिदैं आएको छ। त्यसैलाई रोक्न आइतबार र सोमबार कांग्रेसले संसदीय दलको बैठक समेत बोलाएको छ।
शनिबारको बैठकमा भने गृहमन्त्री रमेश लेखक, स्वास्थ मन्त्री प्रदीप पौडेल र कृषिमन्त्री रामनाथ अधिकारीले मन्त्रालयगत काम कारवाहीको अवस्था बारे जानकारीसमेत गराएका थिए।



