काठमाडौं। स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले अस्पतालमा शुल्क तिर्न सक्ने ब्यक्तिले निशुल्क सेवा लिन नहुने बताएका छन।
शहीद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुको ९१ औं वार्षिकोत्सवका अवरमा बिहीबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै स्वास्थ्यमन्त्री पौडेलले पैसा तिर्न सक्ने बिरामीले निशुल्क सेवा लिन नहुने बताए।
`स्वास्थ्य सेवा सबैका लागि र सबैका पहुँचमा पुर्याउन पैसा तिर्न सक्नेले अस्पतालमा निशुल्क सुविधा लिनु भएन, पैसा नहुनेले मात्र निशुल्क सुविधा लिनु पर्यो, अस्पतालको बेडमा पनि शसुल्क र निशुल्क कसलाई दिइयो नाम सार्वजनिक गरौं, यस्तो गर्दा पैसा नहुनेलाई उपचारमा सहयोग पुग्छ।´ मन्त्री पौडेलले कार्यक्रमलाई सम्बोधन गर्दै भने।
मन्त्री पौडेलले सरकार सबैलाई स्वास्थ्य सेवाको पहुँच पुर्याउन अग्रसर रहेको भन्दै स्रोत र साधनको अभावका बिचमा पनि शहीद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले दिएको सेवा प्रति धन्यवाद व्यक्त गरे।
सो अस्पतालले आज बिहीबार वार्षिकोत्सवका अवसरमा उपचारका लागि आएका बिरामीलाई ओपिडी र इमरजेन्सी टिकट शुल्क निशुल्क गरेको छ। यस्तै अस्पतालमा हुने सम्पूर्ण परीक्षण शुल्कमा ५० प्रतिशत छुट दिने घोषणा गरेको छ ।
अस्पतालका निर्देशक डा युवानिधि बसौलाले वार्षिकोत्सवको अवसरमा बिहीबार आउने बिरामीहरुलाई ओपीडी तथा इमरजेन्सी टिकट निशुल्क र अन्य परीक्षणमा ५० प्रतिशत छुट दिइने जानकारी दिए।
टेकु अस्पतालमा ओपिडी र इमरजेन्सीको टिकट ५० रुपैयाँ तोकिएको छ।
विसं १९९० डाइरेक्टर अफ मेडिकल सर्भिसेज अन्तर्गत हाल रोपवे टर्मिनल रहेको टेकुस्थित पाटीमा कलेरा अस्पताल स्थापना भएको थियो।
२०५३ साल माघ ११ गतेदेखि टेकु अस्पतालको नाम शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालमा परिणत भएको थियो। हाल यो अस्पताल स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गत रहने गरी १०० शैय्याको ट्रपिकल तथा सरुवा रोगहरुको रिफरल अस्पतालको रुपमा सञ्चालनमा छ।



