काठमाडौं। काठमाडौंको महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल (टिचिङ अस्पताल) मा बन्द भएको स्वास्थ्य बीमा कार्यक्रम पाँच महिनापछि पुन: संचालनमा आएको छ।
टिचिङ अस्पतालमा गत भदौ १२ गतेदेखि स्थगन भएको स्वास्थ्य बीमा सेवा सोमबारदेखि पूर्णरूपमा पुनः सञ्चालनमा आएको हो।
अस्पतालका निमित्त निर्देशक डा. घनश्याम गुरुङका अनुसार स्वास्थ्य बीमा वापतको सोधभर्ना वापतको रकम पाएको थिएन। त्यसपछि सेवा आशिक रुपमा संचालन गर्न नसकिएको गुरुङले जानकारी दिए।
अस्पतालमा विगत पाँच महिनादेखि स्वास्थ्य बीमाबाट हुने बिरामी भर्ना, शल्यक्रिया लगायत सेवा पूर्णरूपमा ठप्प भएको थियो। यो अवधिमा ओपिडी र आकस्मिक सेवामा मात्र बीमा सुबिधा प्रदान गरिएको थियो।
टिचिङ अस्पतालमा २०७७ मंसिरदेखि स्वास्थ्य बीमा कार्यक्रम सुरु भएको थियो। सो अस्पतालले बीमा वापत करिब ७० करोड रुपैयाँ प्राप्त गर्न बाँकी र २० करोड रुपैयाँको दाबी प्रक्रियामा रहेको अस्पताल प्रशासनले जनाएको छ।
अस्पताल प्रशासनले गत असारसम्मको बाँकी रकम छिट्टै भुक्तानी गर्ने प्रतिबद्धता जनाएपछि सेवा पुनः सञ्चालनमा ल्याइएको जनाएको छ।
टिचिङ अस्पतालमा बीमा कार्यक्रम आंशिक रुपमा बन्द हुँदा बिरामीहरु मर्कामा पर्दै आएका थिए। अस्पतालले बीमा सेवा पुन: सुरुहुने बारेमा जारी गरेको सूचनामा सबै प्रकारका बीमा सेवाहरू पूर्ववत् रूपमा सञ्चालन हुने बताएको छ।



