पोखरा । नेपाल प्रेस युनियनको आयोजनामा `लोमान्थाङ अन्तर्राष्ट्रिय मिडिया समिट’ हुने भएको छ।
नेपाल प्रेस युनियन गण्डकी प्रदेश र युनियनका गण्डकी प्रदेश भित्रका विभिन्न जिल्लाका अध्यक्ष, पदाधिकारी एवं सदस्य सम्मिलित बैठकलाई शनिवार पोखरामा सम्बोधन गर्दै युनियनका केन्द्रीय अध्यक्ष शिव लम्सालले आगामी चैत्र २६ गतेदेखि बैशाख १ गतेसम्म अन्तर्राष्ट्रिय मिडिया समिट हुने बताएका छन्।
युनियन गण्डकी प्रदेश कार्यसमितिको व्यवस्थापनमा हुने समिटको उद्घाटन जनआन्दोलन दिवस चैत्र २६ गते काठमाडौंमा हुने अध्यक्ष लम्सालले बताए।
त्यसपछि २७ गते गण्डकी प्रदेशको नवलपुरस्थित त्रिवेणी यात्रामा निस्कने छ। यात्रा पाल्पाको रामपुर, स्याङ्जा हुँदै पोखरा आउनेछ। पोखरा आएको टोलीले पोखरामा गण्डकी प्रदेशको पर्यटनको बारेमा छलफल गर्नेछ।
त्यस्तै, लुम्लेमा पुगेर नेपालको मिडिया क्षेत्रको सम्भावना र चुनौतीबारेमा कार्यपत्र प्रस्तुत गर्नेछ। सो टोली त्यहाँबाट मुस्ताङको जोमसोम पुग्नेछ। त्यहाँ जलवायु परिवर्तनको बारेमा कार्यपत्र प्रस्तुत हुनेछ। सोही टोलीले अन्तिम दिन लोमान्थाङ पुगेर अन्तर्राष्ट्रिय समिटको घोषणा-पत्र जारी गर्नेछ।
६ दिनसम्म गण्डकी प्रदेशका विभिन्न जिल्लाको यात्रा गर्दै निस्कने टोलीमा करिब २ सय जनाले भाग लिने अनुमान छ। समिटमा जलवायु परिवर्तन, मिडिया क्षेत्रको वर्तमान अवस्था, सम्भावित चुनौतीहरु, गण्डकी प्रदेशको पर्यटन, विकासका बारेमा विभिन्न शीर्षकमा कार्यपत्र प्रस्तुत हुने अध्यक्ष लम्सालले बताए।
कार्यक्रमको तयारीका लागि शनिबार पोखरामा अध्यक्ष लम्सालको उपस्थितिमा नेपाल प्रेस युनियन गण्डकी, युनियनका गण्डकी प्रदेशका विभिन्न जिल्लाका अध्यक्ष, पदाधिकारी एवं सदस्य सम्मिलित बैठक बसेको युनियन गण्डकीका महासचिव प्रकाश ढकालले जानकारी दिए।
यात्रामा अन्तर्राष्ट्रिय पत्रकार महासंघसँग आबद्ध विभिन्न २० देशका पत्रकार, नेपालका अग्रज पत्रकार, युनियन केन्द्रीय कार्यसमिति, विभिन्न शाखा समेतका पदाधिकारी, सदस्य, अन्य संघसंगठनका पत्रकार गरी २ सयको सहभागिता हुनेछ।
यस्तै, चैत्र २६ गते हुने उद्घाटनमा विभिन्न संघसंस्थाका प्रतिनिधि, विषय विज्ञ र राजनैतिक दलका प्रतिनिधिसहित गरी करिब ८ सयदेखि १ हजार जनाले भाग लिने छन्।
यसैबीच, युनियन गण्डकीको बैठकले हालै सम्पन्न नेपाल पत्रकार महासंघको चुनावी परिणामको समीक्षासमेत गरेको छ। गण्डकी प्रदेश अन्तर्गत १० जिल्लाको चुनाव शान्तिपूर्णरुपमा सम्पन्न भए पनि गोरखाको चुनाव हुन नसकेकामा तत्काल चुनाव गर्न सम्बन्धित निकायमा पहल गर्ने निर्णय गरेको छ।
बैठक नेपाल प्रेस युनियन गण्डकी प्रदेशका अध्यक्ष टंकराज अधिकारीको अध्यक्षतामा बसेको थियो।



