काठमाडौं। सरकारले आगामी माघ २२ गतेबाट पाठेघरको मुखको क्यान्सर विरुद्ध प्रयोग हुने ह्युमन प्यापिलोमा भाइरस (एचपीभी) खोप अभियान सुरु गर्दै छ।
अभियानमा १० देखि १४ वर्ष उमेर समूहका १६ लाख ८८ हजार ७६८ जना किशोरीले निशुल्क खोप पाउने छन् । यो अभियान विषेश गरि विद्यालय केन्द्रित हुने छ भने कक्षा ६ देखि १० कक्षाका किशोरीलाई खोप प्रदान गरिने छ।
२२ माघदेखि ६ फागुनसम्म २२ दिन चल्ने अभियानमर्फत सरकारले १० देखि १४ वर्ष उमेर समूहका १६ लाख ८८ हजार ७६८ जना किशोरीलाई निशुल्क खोप लगाउने योजना बनाएको छ।
स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखा अन्तर्गत खोप शाखाका प्रमुख डा. अभियान गौतमले यसपटकको एचपीभी खोप अभियानमा १० देखि १४ वर्ष उमेर समूहका १६ लाख ८८ हजार ७६८ जना किशोरीलाई निशुल्क खोप प्रदान गरिने जानकारी दिए।
खोप अभियानमा २७ हजार ८० जना स्वास्थ्यकर्मी परिचालन हुने छन। यस्तै ५४ हजार १६० जना स्वयंसेवक, १५ हजार ६७४ जना सुपरीवेक्षक अभियानका लागि खटिने छन।
अभियान अन्तर्गत १८ हजार ९०० विद्यालयलाई यो खोपका लागि केन्द्र तोकिएको छ। विद्यालय बाहेकका ८ हजार २०० स्वास्थ्य संस्थाहरुलाई पनि केन्द्र मानेर खोप प्रदान गरिंदै छ।
अभियानका लागि ग्लोबल एलायन्स फर भ्याक्सिन एण्ड इमुनाइजेसन’ (गाभी) को सहयोगमा चिनियाँ कम्पनी इनोभ्याक्सले उत्पादन गरेको सिकोलिन ब्राण्डको खोप प्रयोग गरिने छ। त्यसका लागि आवश्यक पर्ने १७ लाख ७० हजार ४०० भाइल खोप नेपाल आइपुगेको छ।
अभियानका लागि आवश्यक पर्ने खोपहरु मधेश प्रदेश बाहेकका ६ वटा प्रदेशमा पठाइसकिएको छ। अब केही दिन भित्रमा मधेश प्रदेशमा पनि आवश्यक मात्रामा खोप पठाइने छ।



