मकवानपुर उद्योग वाणिज्य संघको अध्यक्षमा प्रमोदसिंह रानाभाट विजयी भएका छन्।
शनिबार नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनमा अध्यक्ष पदमा रानाभाट निर्वाचित भएका हुन्। उनले प्रतिद्वन्द्वी अनिल अग्रवाललाई २ सय ४९ मतान्तरले पराजित गरेका हुन्।
रानाभाटले १ हजार १४ मत पाउँदा अग्रवालले ७ सय ६५ मत ल्याए। रानाभाट र अग्रवाल प्यानल सहित चुनावी प्रतिस्पर्धामा होमिएका थिए। पदाधिकारीमा रानाभाट प्यानलका अधिकांश उम्मेदवार निर्वाचित भएका छन्।
निर्वाचनमा कुल २ हजार ४६ मतदाता रहेकोमा १८ सय १६ जनाले मतदान गरेका थिए। कुल २८ पदमध्ये २१ पदमा ४२ जना उम्मेदवारबीच चुनावी प्रतिस्पर्धा भएको थियो। निर्वाचन प्रक्रियाका क्रममा दुई सचिव सहित ७ जना निर्विरोध निर्वाचित भएका थिए।
अध्यक्षमा निर्वाचित रानाभाट अटो इन्जिनियरिङ, यातायात र स्वास्थ्य क्षेत्रका व्यवसायी हुन। रानाभाटले आफ्नो तीन पुस्ताको व्यवसायिक परम्परालाई सफलतापूर्वक अघि बढाउँदै आएका छन्।
मकवानपुर उद्योग वाणिज्य संघमा उनको संलग्नता २०६८ सालमा सदस्यका रूपमा भएको थियो। त्यसयता, उनले कोषाध्यक्ष, महासचिव, र उपाध्यक्ष पदमा रहेर संघमा काम गरेक थिए।
यसैगरी, महासचिवमा प्रतिमा श्रेष्ठ १ हजार १२ मतसहित विजयी भइन्। उनले निकटतम प्रतिस्पर्धी बिकेशलाल श्रेष्ठलाई २ सय ९९ मतान्तरले पराजित गरिन्।
यस्तै कोषाध्यक्ष पदमा तेजराज अधिकारी ९ सय १७ मतसहित विजयी भए भने उनका प्रतिस्पर्धी श्रीकृष्ण कर्माचार्यले ८ सय १ मत प्राप्त गरे। सह-कोषाध्यक्ष पदमा निलम वैद्यले ९ सय १६ मत ल्याएर विजयी हुँदा राधिका सामरी पाण्डे १ सय ३५ मतमा सीमित बनेकी छन्।
उपाध्यक्षमा वाणिज्यतर्फ राज अधिकारी, उद्योगतर्फ दीपक उप्रेती, एशोसिएटतर्फ उज्ज्वल चौलागाई र बस्तुगततर्फ काव्यमणि अधिकारी निर्वाचित भएका छन्।
उद्योगतर्फ उपाध्यक्षमा दिपक उप्रेती २ सय ७२ मतसहित विजयी भए भने उनका प्रतिस्पर्धी रविन्द्रप्रसाद घिमिरेले २ स्य ४० मत प्राप्त गरे।
सदस्यमा कृष्ण गोपाल महर्जन, जगदिश दाहाल, र भुपेन्द्र प्रसाद अधिकारी विजयी भए। महर्जनले २ सय ८८, दहालले २ सय ७३, र अधिकारीले ३ सय ७ मत प्राप्त गरे। महिला आरक्षणको सदस्यमा सितादेवी भेटवाल विजयी भइन्।
वाणिज्यतर्फ उपाध्यक्षमा राजु अधिकारी ५ सय ९९ मतसहित विजयी हुँदा उनका प्रतिद्वन्द्वी रामप्रसाद न्यौपानेले ४ सय ८४ मत प्राप्त गरे। सचिवमा कुलप्रसाद चौलागाईंले ६ सय ८४ मत ल्याउँदा दिवस पराजुली २ सय ७३ मतमा सिमित भए।
वाणिज्यतर्फ सदस्य पदमा बालकृष्ण बजगाईं, सन्तोष घिमिरे, विष्णुप्रसाद दाहाल, र राजेन्द्र लामिछाने विजयी भएका छन्।
संघको एशोसिएट उपाध्यक्षमा उज्ज्वल चौलागाई निर्वाचित भएका छन। उनी ४८ मत पाएर निर्वाचित बनेका हुन्। उनको प्रतिद्वन्द्वी विष्णु खनालले ३३ मत मात्रै ल्याए। एशोसिएटतर्फको सदस्यमा नवराज खतिवडा ६४ मत र अंकिता सुमार्गी ५४ मतसहित विजयी हुँदा ३८ मत प्राप्त गरी पुजन विडारी पराजित भए।
वस्तुगततर्फ उपाध्यक्षमा काव्यमणी अधिकारी निर्वाचित भए। वस्तुगततर्फ २७ मतमध्ये २६ मत खसेकोमा अधिकारीले १५ मत पाए। उनको प्रतिद्वन्द्वी प्रदीप अर्यालदे ११ मत मात्रै प्राप्त गरे।
वस्तुगत सचिवमा नेत्रप्रसाद खतिवडा र राजाराम कार्कीबीच १३-१३ मतसहित बराबरी भएको छ। शपथ ग्रहण कार्यक्रममा गोलाप्रथाबाट विजेता चयन गरिने निर्वाचन समितिले जानकारी दिएको छ। वस्तुगत सदस्यमा शम्भु पुडासैनी १२ मतसहित विजयी भए। ११ मतसहित कृष्ण अर्याल र ३ मतसहित गोविन्द चौलागाई पराजित हुन पुगे।



