काठमाडौं। रास्वपाका सभापति रवी लामिछानेको मुद्दा माथिको थुनछेक बहस आज पनि नसकिएपछि उनलाई काठमाडौं प्रहरीको हिरासतमा पठाइएको छ।
आइतबारको आदेशलाई निरन्तरता दिंदै जिल्ला अदालत काठमाडौंले लामिछानेलाई प्रहरी हिरासतमा पठाउन आदेश गरेको हो। उनको मुद्दा हेर्दाहेर्दैमा राखिएको छ।
लामिछानेको मुद्दा जिल्ला अदालत काठमाडौंका न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासमा छ। इजलासमा आज जाहेरवालाको तर्फबाट वरिष्ठ अधिवक्ता सुरेन्द्र भन्डारी र दिनेश त्रिपाठी तथा अन्य ९ जना सरकारी वकिल ९ ले बहस गरेका थिए।
लामिछाने तर्फका वकिलहरुको वहस भने बाँकी छ।सबैको बहस नसकिएकाले मुद्दा हेर्दाहेर्दैमा राखिएको हो।मंगलबार माघे संक्रान्तिको सार्वजनिक बिदा परेकाले लामिछाने पक्षका कानुन व्यवसायीले अब बुधबार बहस गर्नेछन्। उनीहरूको बहस सकिएपछि सरकारी वकिलले जवाफी बहस गर्नेछन्।
काठमाडौँको स्वर्णलक्ष्मी सहकारीको रकम संगठित तवरले ठगी गरेको अभियोगमा लामिछाने माथी अभियुक्तहरूविरुद्ध मुद्दा चलिरहेको छ। कालिमाटीमा मुख्य कार्यालय रहेको सो सहकारीका साढे ५ हजार बचतकर्ताको १ अर्ब १९ करोड रूपैयाँ संगठित रूपमा ठगी गरेको अभियोगमा लामिछानेसहित ३९ अभियुक्तविरुद्ध गत पुस २१ गते काठमाडौ जिल्ला अदालतमा मुद्दा दायर भएको थियो।
पोखराको सूर्यदर्शन सहकारी ठगीको आरोपमा भएको थुनछेक बहसपछि उनी गत पुस २५ गते धरौटीमा रिहा भएका थिए।
लामिछानेविरुद्ध रूपन्देहीको सुप्रिम सहकारी, चितवनको सहारा र पर्साको सानो पाइला सहकारी ठगीको पनि आरोप छ। ती जिल्लामा समेत मुद्दा अभियोजनको प्रक्रियामा छ।



