काठमाडौं। परराष्ट्र मन्त्री आरजु राणाले हमासको अपहरणमा परेका विपिन जोशी नेपाल फर्किएर आउनेमा आफू ढुक्क रहेको र उनी सकुशल रहेको बताएकी छन्।
सोमबार संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा बोल्दै मन्त्री राणाले हमासको अपहरणमा परेका जोशी नेपाल फर्किएर आउने बताइन्।
‘विपिन भाइ सकुशल हुनुहुन्छ, उहाँ नेपाल फर्केर आउनुहुन्छ भन्नेमा म ढुक्क छु, उहाँको अवस्था बुझ्ने विषयमा कतारका राजदूतसँग कुरा भैरहेको छ, राजदुतमार्फत कतारका परराष्ट्र मन्त्रीसँग कुरा गराउने आश्वासन आएको छ।’ परराष्ट्र मन्त्री राणाले भनिन्।
उनले आफू जोशी सकुसल रहेको र फर्किएर आउनेमा ढुक्क रहेको पटकपटक बताइन। राणाले सरकारको तर्फबाट उनको अवस्था बुझ्न र ल्याउनका लागिसमेत निरन्तर पहल भैरहेको बताइन्।
मन्त्री राणाले यसअघि ३४ जनाको रिहाइ हुन लागेको रिपोर्ट आएको तर पछि रिहाइ हुन नसकेको भन्दै जुलाईमा इजरायलले नै महिला बालबालिकाको सूची हमासलाई पठाइसकेको रिपोर्ट आएकोसमेत बताइन्।
सुदूरपश्चिम विश्वविद्यालयको कृषि विज्ञान विषयमा ‘अर्न एण्ड लर्न’ कार्यक्रमअन्तर्गत इजरायल पुगेका जोशीलाई हमासले नियन्त्रणमा लिएको १५ महिना बितेको छ। उनको अवस्था बारे अझै सार्वजनिक गरिएको छैन।



