काठमाडौं। सरकारले ल्याएको अध्यादेशको विरोधमा नेपाली कांग्रेसका सभापतिको हस्ताक्षरसहित सामाजिक संजालमा आएको नक्कली विज्ञप्तिले राजनीतिक वृत्तमा हलचल मच्चाएको छ।
आइतबार साँझ एकाएक सामाजिक संजालमा आएको नक्कली विज्ञप्तिमा सरकारले ल्याएको अध्यादेशको विरोध गरिएको छ। सो नक्कली विज्ञप्तिमा तत्काल अध्यादेश फिर्ता लिन भनिएको छ।
तर कांग्रेसले भने तत्कालै आधिकारिक रुपमा ध्यानाकर्षण जारी गर्दै सो नक्कली विज्ञप्तिको विरोध गरेको छ। कांग्रेस मुख्यसचिव कृष्ण प्रसाद पौडेलले कांग्रेसको `गम्भीर ध्यानाकर्षण´ जारी गर्दै नक्कली विज्ञप्तिको विरोध गरेका हुन्।
यस्तो छ कांग्रेस मुख्यसचिवद्वारा जारी ध्यानाकर्षण पत्र:
नेपाली राजनीतिलाई तरङ्गित गर्ने, गठबन्धनको सरकारका बारे अन्यौल सृजना गरी नेपाली जनतालाई दिगभ्रमित गर्ने कुत्सीत मनसायबाट नेपाली कांग्रेस पार्टी सभापतिको नामबाट नक्कली प्रेस वक्तव्य विभिन्न सामाजिक सन्जालहरूमा सम्प्रेषित भएकोमा हाम्रो पार्टीको गम्भीर ध्यानाकर्षण भएको छ।
हतास मनस्थितिबाट गरिएका यस्ता घृणित कार्यको निन्दा गर्दै त्यस्ता गैरकानूनी कार्यमा संलग्न जो कसैलाई कानूनी दायरामा ल्याउन सम्बन्धित निकायसँग नेपाली कांग्रेस जोडदार माग गर्दछ । साथै, यस्ता भ्रमित गतिविधिबाट प्रभावित नहुन सबैमा नेपाली कांग्रेस अनुरोध गर्दछ ।
जय नेपाल !
कृष्णप्रसाद पौडेल
मुख्य सचिव



