काठमाडौं। सहकारी ठगी प्रकरणमा पोखरामा लामो समय हिरासतमा रहेर गत पुस २५ गते धरौटीमा रिहा भएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवी लामिछाने आज आइतबार काठमाडौं जिल्ला अदालतमा उपस्थित हुँदै छन्।।
जिल्ला अदालत कास्कीको थुनछेक बहस पछि धरौटीमा रिहा भएका उनी काठमाडौंमा रहेको स्वर्ण लक्ष्मी सहकारी ठगी सम्बन्धि अर्को मुद्दाका लागि जिल्ला अदालत काठमाडौं उपस्थित हुने भएका हुन्।
पोखरामा रिहा हुँदा बित्तिकै प्रहरीले लामिछानेलाई पुन: पक्राउ गर्ने र काठमाडौं जिल्ला अदालतमा मुद्दा चलिरहेकाले काठमाडौं ल्याउने आशंका थियो।
सो आशंका संचार माध्यमदेखि सामाजिक संजालसम्म व्यापक भयो। तर लामिछानेले भने आफैं शुक्रबार काठमाडौ जिल्ला अदालतमा उपस्थित हुने शर्तमा प्रहरीले परिवारको जिम्मा लगाएको थियो।
तर लामिछाने शुक्रबार काठमाडौ जिल्ला अदालतमा उपस्थित भने भएनन्। उनी पोखरामा बाँकी कानुनी प्रक्रियामा अल्झँदा शुक्रबार समयमा नै काठमाडौं आउन नभ्याएको बताइएको छ। उनी शुक्रबार स्थलमार्ग हुँदै काठमाडौं आएका थिए।
रास्वपाका कार्यबाहक प्रवक्ता मनिष झाका अनुसार लामिछाने शनिबार बिदा परेकाले आइतबार काठमाडौं जिल्ला अदालत उपस्थित हुने भएका हुन।
लामिछानेविरुद्ध रुपन्देहीको सुप्रिम सहकारी, चितवनको सहारा चितवन र पर्साको सानो पाइला सहकारी ठगीको पनि आरोप लागेको छ। ती जिल्लामा पनि उनीविरुद्ध मुद्दा छ।
लामिछाने कात्तिक २ गते काठमाडौंस्थित पार्टीको केन्द्रीय कार्यालयबाटै पक्राउ परेका थिए। कास्कीको सूर्यदर्शन सहकारी लगायतमा परेको मुद्दाको अनुसन्धानका लागि उनलाई प्रहरीले पक्राउ गरेको थियो।
जिल्ला अदालत कास्कीका न्यायाधीश नीतिज राईको इजलासले उनलाई ६५ लाख धरौटीमा रिहा गर्न आदेश दिएको थियो। आदेशलगत्तै पुस २५ गते राती नै बैंक ग्यारेन्टीमार्फत धरौटी रकम बुझाएपछि उनी थुनामुक्त भएका थिए।



