मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

आँखा स्वास्थ्य सेवामा नेपाल सक्षम : विदेश बस्ने नेपालीलाई विदेशमै सेवा, उपचारका लागि आउने विदेशी पनि बढे

आँखा स्वास्थ्य सेवामा नेपाल सक्षम : विदेश बस्ने नेपालीलाई विदेशमै सेवा, उपचारका लागि आउने विदेशी पनि बढे

images
२०८१ पौष २७ गते, शनिवार
२०८१ पौष २७ गते, शनिवार
  • आँखा स्वास्थ्य सेवामा नेपाल सक्षम : विदेश बस्ने नेपालीलाई विदेशमै सेवा,  उपचारका लागि आउने विदेशी पनि बढे
    काठमाडौं। विदेशमा रहेका नेपालीले नेपाली नेत्रविशेषज्ञबाट आँखा उपचार सेवा लिन  पाउने भएका छन्।

    images

    नेपाल नेत्रज्योति सङ्घले विदेशमा बस्ने नेपालीलाई लक्षित गर्दै विदेशमा आँखा उपचार सेवा विस्तार गरेपछि विशेष गरेर वैदेशिक रोजगारीमा पुगेका नेपाली लाभान्वित भएका हुन्।

    images

    सङ्घले पहिलो पटक यस्तो सेवा ओमानबाट सुरुआत गरिसकेको सङ्घका महासचिव भरतबहादुर चन्दले जानकारी दिए।उनका अनुसार सङ्घले अब छिट्टै थाइल्याण्ड र मलेसियामा आँखा उपचार सेवा थालनी गर्नेछ।

    “नेपाली राजदूतावास, गैर आवासीय नेपाली सङ्घको सहकार्यमा सङ्घले विदेशमा आँखा उपचार सेवा विस्तार गरिसकेको छ। सङ्घको आँखा उपचार सेवा सस्तो र गुणस्तरीय हुने भएकाले यसको माग विभिन्न देशमा बस्ने नेपालीबाट भैराखेको छ। पहिलो पटक ओमानबाट सेवा सुरुआत गरिसक्यौ, अब निकट भविष्यमा थाइल्याण्ड र मलेसियबाट पनि आँखा उपचार सेवा थालिने गरिने छ।” महासचिव चन्दले भने।

    नेत्रविशेषज्ञ प्राडा देवनारायण साहको अध्ययन अनुसार नेपालको आँखा स्वास्थ्य उपचार सेवा विश्वमै सस्तो र गुणस्तरीय रहेको छ। यही कारण नेपालमा आँखा उपचार सेवा लिने विदेशीको सङ्ख्या पनि वृद्धि भैराखेको छ। उनका अनुसार तेस्रो मुलुकबाट मात्र गत वर्ष दुईलाख ५० हजार विदेशी नागरिकले नेपालको आँखा अस्पतालबाट सेवा लिएका थिए।

    अर्कोतर्फ सङ्घले मागका आधारमा विदेशमा आफ्ना नेत्रविशेषज्ञलाई पठाइ सेवा दिने गरेको छ। गत असोजमा सङ्घद्वारा सञ्चालित लुम्बिनी नेत्र विज्ञान अध्ययन सस्थान तथा रिसर्च सेन्टर रण अम्बिका शाह आँखा अस्पताल भैरहवामा कार्यरत चिकित्सले बङ्गलादेशको ढाकास्थित नेशनल इन्टिच्यूट अफ अप्थाल्मोलोजीमा सेवा प्रदान गरेका थिए।

    नेपाली चिकित्सकले ढाकामा भएको आन्दोलनका क्रममा आँखामा चोट लागेर नानी च्यातिएका, नानीमा गहिरो चोट लागेका, आँखाको पर्दा च्यातिएका, नानीमा रगत जमेका लगायत समस्या देखिएका बिरामीको उपचार तथा शल्यक्रिया गरेका थिए।

    सङ्घका कार्यकारी निर्दशक डा शैलेशकुमार मिश्रले भने “पछिल्ला वर्षमा नेपाल आँखा उपचारको पर्यटन गन्तव्य अर्थात् ‘आइ मेडिकल टुरिजम’को रुपमा विकसित हुँदै गएको छ। सन् २०२३ मा मात्र भारत र बंगलादेश सहित विभिन्न देशका आठलाख आँखाका बिरामीले सङ्घको सञ्जालमार्फत् आँखा उपचार गराएका छन्।”

    नेपालको आँखा स्वास्थ्य सेवामा सबैभन्दा ठूलो संयन्त्र भएको सङ्घ अन्तर्गत हाल देशभर २८ आँखा अस्पताल, एकसय ६० आँखाउपचार केन्द्र तथा ४५ जिल्ला शाखा सञ्चालनमा रहेको छ।

    विसं २०३५ मा स्थापना भएको सङ्घ ले हालसम्म नेपाली नागरिक तथा अन्य नागरिक गरी कूल चारकरोड ३६ लाख २६ आँखा  बिरामीलाई उपचार सेवा प्रदान गरिसकेको छ। यसैगरी ५१ लाख ३३ हजार छसय ५९ जनाको शल्यक्रिया मार्फत आँखाको ज्योति फर्काउन सफल भएको छ।  

    सङ्घका उपाध्यक्ष श्यामकुमार पोखरेलले भने, “आँखा उपचार गर्न भनेर विदेश जानुपर्दैन, अव विदेशी नेपाल आउन थालेका छन् । आँखा स्वास्थ्य सेवामा नेपाल सक्षम भएको छ।”

     

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend