काठमाडौं। हिजो मात्र कास्की जिल्ला अदालतको आदेशमा धरौटीमा रिहा भएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्वगृहमन्त्री रवी लामिछाने आज काठमाडौँ जिल्ला अदालतमा उपस्थित हुँदै छन्।
काठमाडौंस्थित स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा पनि लामिछाने विरुद्ध मुद्दा रहेकाले आज उनी काठमाडौं जिल्ला अदालतमा आफैं हाजिर हुने भएका हुन्।
रास्वपा कार्यवाहक प्रवक्ता मनिष झाका अनुसार लामिछाने आफैं अदालत उपस्थित हुने भएका हुन।
पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा कात्तिक २ देखि कास्की प्रहरीको हिरासतमा रहेका लामिछाने बिहीवार जिल्ला अदालत कास्कीको आदेशमा ६५ लाख धरौटी बुझाएर रिहा भएका थिए।
उनलाई अदालतमा आफैँ हाजिर हुने लिखित कागत गराएर बिहीवार राती कास्की प्रहरीले परिवारको जिम्मा लगाएको थियो।
पूर्वगृहमन्त्रीसमेत रहेका लामिछानेलगायत ६३ जनाविरुद्ध सरकारी वकिल कार्यालय कास्कीले एक अर्ब ५१ करोड बिगो माग दावीसहित ५ पुसमा थप र ७ पुसमा पुरक अभियोजनपत्र जिल्ला अदालत कास्कीमा दर्ता गराएको थियो।
लामिछानेविरुद्ध सहकारी ठगी, सम्पत्ति शुद्धीकरण र संगठित अपरोधको अभियोगमा मुद्दा दायर भएको छ। सोही मुद्दामा लामो बहसपछि बिहीवार थुनछेक आदेश आएको हो।
त्यसअघि थुनछेक बहसका क्रममा लामिछानेले थुनामुक्त गरेर बाहिरै बसेर मुद्दाको पुर्पक्ष गर्न पाउने गरेर आदेश दिन आग्रह गरेका थिए।
लामिछानेसहित पूर्वडिआइजीसमेत रहेका गोर्खा मिडियाका पूर्वउपाध्यक्ष छविलाल जोशी, रविको सहयोगी लिला पछाईं, पूर्वसांसद तथा संस्थापक उपाध्यक्ष मीना गुरुङ, संस्थापक सदस्य मीनाकै बाबु कृष्णबहादुर र पूर्वकोषाध्यक्ष आरती गुरुङलाई पनि प्रतिवादी बनाइएको छ।
उनीहरुलाई जिल्ला अदालत कास्कीले धरौटीमा छाड्न आदेश दिएपछि ६ जना भने धरौटी रकम बुझाएर रिहा भइसकेका छन्। तर लीला पछाईंले भने बिहीबार रातीसम्म धरौटी रकम बुझाउन सकेकी छैनन्।
लामिछानेले भने बैंक ग्यारेन्टीमार्फत ६५ लाख धरौटी रकम बुझाएका थिए। आरती र मीनालाई ५–५ लाख रुपैयाँ तथा कृष्णलाई १ लाख रुपैयाँ धरौटी माग गरिएको थियो।
यसैगरी, पूर्वडीआईजी जोशीलाई ८८ लाख, खनाललाई १५ लाख धरौटी माग गरिएकोमा जोशी र खनालले पनि धरौटी रकम बैंक ग्यारेन्टीमार्फत बुझाएका छन।
उनीहरू बिहीबार राती नै हिरासतमुक्त भएका छन्। तर अन्यत्र जिल्लामासमेत मुद्दा भएकाहरुलाई प्रहरीले पुन: पक्राउ गर्न सक्छ वा सम्बन्धित जिल्ला अदालतमा आफै उपस्थित हुनेगरी रिहा हुन पाउने छन्।



