पोखरा। कास्की जिल्ला अदालतले सहकारी ठगी प्रकरणमा पक्राउ परेका रवी लामिछानेसहितलाई धरौटीमा छाड्न आदेश दिएको छ।
बिहीबार थुनछेक बहस सकिएपछि जिल्ला अदालतका न्यायाधीश नीतिज राईको एकल इजलासले सूर्यदर्शन सहकारी ठगी प्रकरणका अभियुक्त लामिछानेलाई ६५ लाख धरौटीमा छाड्न आदेश दिएको हो।
सूर्यदर्शन सहकारी बचत अपचलन मुद्दामा कास्की जिल्ला अदालतले अन्य प्रतिवादीहरुलाई पनि धरौटीमा रिहा गर्न आदेश दिएको छ ।
जसअनुसार पूर्वडीआईजी छविलाल जोशीलाई ८८ लाख, लीला पछाईँलाई ३७ लाख, राम खनाललाई १५ लाख, कृष्ण गुरुङलाई १ लाख धरौटी तोकिएको छ।
यस्तै पूर्वसांसद मीना गुरुङलाई ५ लाख र आरती गुरुङलाई ५ लाख धरौटी लिएर छाड्न कास्की जिल्ला अदालका न्यायाधीश राईको इजलासले आदेश दिएको हो।
कास्की जिल्ला अदालतमा गत पुस १६ गतेदेखि लामिछानेसहित उक्त मुद्दाका सात जना प्रतिवादीको थुनछेक भइरहेको थियो।
जिल्ला सरकारी वकिलको कार्यालयले यही पुस ७ गते सहकारीको रकम अपचलनको आरोपमा लामिछानेसहित ४४ जनाविरुद्ध मुद्दा दायर गरेको थियो।
लामिछानेमाथि सहकारी ठगीसँगै सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरण कसुरमासमेत मुद्दा चलाइएको थियो।
सूर्यदर्शन सहकारीको रकम ठगी प्रकरणमा सरकारी वकिलको कार्यालय कास्कीले हालसम्म ६३ जनाविरुद्ध जिल्ला अदालत कास्कीमा मुद्दा अघि बढाएको थियो।
लामिछानेसहित १९ जनाविरुद्ध सङ्गठित अपराधमासमेत मुद्दा चलाइएको थियो भने लामिछानेसँगै खनाल, जोशी र पछाईँविरुद्ध सम्पत्ति शुद्धीकरणमा पनि मुद्दा चलाइएको थियो।



