पोखरा। सूर्यदर्शन सहकारी ठगी प्रकरणका अभियुक्तको थुनछेक बहस सकिएपछि आजै आदेश आउने सम्भावना छ।
अहिले अभियुक्तहरुको थुनछेक बहस सकिएर आदेश लेखनको काम भैरहेको छ भने आज नै सहकारी ठगी प्रकरणमा कास्की जिल्ला अदालतको फैसला आउने सम्भावना छ।
कास्की जिल्ला अदालतका श्रेष्तेदार राजन खनालका अनुसार अहिले थुनछेक बहस सकिएर आदेश लेखनको प्रक्रिया अघि बढिरहेको छ।
सूर्यदर्शन सहकारी ठगीमा जोडिएका प्रतिवादीहरूमाथि जिल्ला सरकारी वकिलको कार्यालयले सरकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा लगाएको थियो।
कास्की जिल्ला अदालतका न्यायाधीश नीतिज राईले सरकारी वकिलको तर्फबाट जवाफी बहस भएपछि प्रतिवादीलाई बोल्न समय दिएका थिए।
त्यसक्रममा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत रहेका पूर्वगृहमन्त्री रवी लामिछानेले तारिखमा बाहिरै बसेर सहकारीपीडितलाई न्याय दिलाउन पहल गर्ने भन्दै थुनाबाहिर रहने गरि आदेश दिन आग्रह गरेका थिए।
सो क्रममा उनले आफूमाथि अन्यायपूर्ण ढंगले सरकारले प्रतिशोध साध्नका लागि अभियोग लगाएको बताएका थिए।
कास्की जिल्ला अदालतमा रास्वपा सभापति लामिछानेले आफ्ना कुरा राखेपछि अहिले थुनुवा विश्राम कक्षमा आराम गरिरहेका छन् । रवीसँगै उनकी पत्नी निकिता पौडेलसमेत सँगै छिन।
यस्तै रास्वपाका नेता कार्यकर्ताहरुसमेत अदालत आसपासमा पुगेका छन। रास्वपाका कार्यवाहक सभापति डीपी अर्याल, कार्यवाहक प्रवक्ता मनिष झा, नेता विराजभक्त महर्जन, हरि ढकाल लगायत कास्की अदालत पुगेका छन।
अदालत परिसरसहित आसपासमा प्रहरीको बाक्लो उपस्थिति देखिएको छ भने सुरक्षा ब्यवस्था कडा पारिएको छ।



