काठमाडौं। आज विश्वभर आवास दिवस मनाइंदै छ। संयुक्त राष्ट्र सङ्घीय मानव बसोवास कार्यक्रम (युएन ह्याबिट्याट) को आह्वानमा सन् १९८६ देखि अक्टोबर महिनाको पहिलो सोमबारका दिन यो दिवस मनाउन लागिएको हो। नेपालमा भने सन् २००१ देखि सरकारी एवं गैरसरकारी क्षेत्रबाट यो दिवस मनाउन सुरु गरिएको पाइन्छ।
सरकारले यस वर्ष नेपालमा ‘कर्मशील युवा : समुन्नत सहर’ नाराका साथ विश्व बसोवास दिवस २०८१ मनाउने तयारी गरिरहेको छ। कार्यक्रमका लागि मूल समारोह समिति नै गठन गरिएको छ। तर यतिबेलै देशको राजधानी काठमाडौंसहित १४ जिल्ला बाढी तथा पहिरोबाट पीडामा छ। काठमाडौंमा भने सहरी विकास मन्त्रालय, सहरी विकास तथा भवन निर्माण विभाग लगायतले दिवसको भव्य तयारी गरेका छन् भने विज्ञले कार्यपत्र पढ्ने कार्यक्रम पनि बनाएको छ।
२०७२ सालमा आएको भुकम्पका समयमा पहाडी भुभागबाट बेसीतर्फ झरेका कैंयौं नागरिकहरुको अहिले उठिबास भएको छ। काठमाडौंका सुकुम्वासी बस्तिहरुमा धेरैको छानो खोसिएको छ। काठमाडौंकै शंखमुल, चोभार, बल्खु, थापाथली, कोटेश्वर नरेफाँट तथा ललितपुरका टीकाभैरव, नख्खु, टीकाथली, गोदावरी, लामाटार सिस्नेरी, काभ्रेको पनौती, सिन्धुलीको खुर्कोट लगायतका स्थान अहिले बाढी तथा पहिरोको चपेटामा छ भने केही स्थान उजाड बनेको छ। यीमध्ये धेरै स्थान सहरी क्षेत्रमा नै पर्दछन्।
काभ्रे, सिन्धुपाल्चोक, सिन्धुली, काठमाडौं, ललितपुर, भक्तपुर, धादिङ, ताप्लेजुङ, पाँचथरसहितका केही जिल्लाहरुमा अहिले बाढी तथा पहिरो प्रभावित स्थानीयहरु घर छाडेर हिडेका छन्।
सबैका लागि उपयुक्त आवास सुनिश्चित गर्ने उद्देश्यले विश्वको ध्यानाकर्षण गर्न सुरु गरिएको यो दिवसमार्फत दिगो सहरी विकास प्रवर्दन गर्ने लक्ष्यसमेत राखिएको छ।
सहरी विकास तथा भवन निर्माण विभागले सरकारी एवं गैरसरकारी क्षेत्रबाट मनाउन सुरु गरेको यो दिवस नेपालले मनाउन सुरु गरेको २३ वर्ष भइसकेको छ। तर यी २३ वर्षहरुमा नेपालमा सहरी क्षेत्रको आवासको व्यवस्थापन झनै फितलो भएको देखिन्छ।
सहरी क्षेत्रमा घर तथा भवन निर्माण गर्दा होस् या त विकास निर्माणका सन्दर्भमा नै किन नहोस् व्यवस्थित आवासीय अवस्थालाई ध्यान दिएको पाइंदैन। तर त्यसका लागि छुट्याइएका वजेट भने वर्षेनी खर्च भइरहेकै छ। फितलो नीति र योजनाका कारण नेपालमा ससाना विपद्को अवस्थामा पनि धेरै जनधनको क्षति हुने गरेको पाइन्छ।
गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीका अनुसार गत ११ र १२ असोजमा परेको अविरल वर्षाका कारण मात्रै बाढी तथा पहिरोमा परी ४ हजार ६६७ घरहरु पूणर् रुपमा क्षति पुगेको तथ्यांक छ। यसैगरी ५ हजार ३१० घरमा आंशिक क्षति पुगेको छ। १६ हजार २४३ परिवार बाढीपहिरोबाट प्रभावित भएका छन् भने १० हजार ८०७ जना विस्थापित भएका छन्। बाढी पहिरोमा परी हालसम्म २४४ जनाको मृत्यु भएको छ। अझै १९ जना बेपत्ता छन् भने १७९ जना घाइते छन्। बाढीपहिरो प्रभावित क्षेत्रबाट १७ हजार १७४ जनाको उद्धार गरिएको छ।
दिगो विकास लक्ष्यले एक दशमलव एकले समावेशी तथा दिगो सहरीकरण गर्ने लक्ष्य लिएको छ। दिगो सहरीकरणका लागि दीर्घकालिन योजना बनाइने गरेको भएपनि योजना फितलो हुँदा प्रभावकारी देखिएका छैनन्।
दिगो सहरीकरणका लागि सहरी विकास मन्त्रालय तथा विभागले सघन सहरी विकास कार्यक्रम, क्षेत्रीय सहरी विकास आयोजना, सहरी करिडोर आयोजना, नयाँ सहर आयोजनामार्फत विभिन्न स्थानीय तहमा सामाजिक तथा आर्थिक पूर्वाधार विकासका कार्यक्रमहरु गर्दै आएका छन्।



