काठमाडौं। औसधिको विक्रीमा हुने बेथिति रोक्न र आधिकारिक ब्यक्ति मात्रै औसधि विक्रीमा संलग्न गराउन भोलिदेखि फार्मेसिष्टका लागि सेतो एप्रोन अनिवार्य गरिंदै छ।
नेपाल फार्मेसी परिषदले पुष ४ गतेबाट लागू हुने गरी गर्न लागेको अनिवार्य पोशाकको व्यवस्था लागू गराउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सघाउने भएको हो।
स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले फार्मेसीलाई व्यवस्थित गर्नका लागि आवश्यक व्यवस्था गर्न परिषदलाई भनेका थिए। लगत्तै परिषदले पहिलो चरणमा फार्मेसिष्टको पहिचान खुलाउन पोशाक अनिवार्य गर्ने निर्णय गरेको थियो।
परिषदले गत मंसिर ४ गते फर्मासिष्ट तथा सहायकका लागि सेतो एप्रोनसहितको पोशाक र परिचय अनिवार्य गर्ने निर्णय गरेको थियो।
कुनै पनि सामुदायिक फार्मेसी वा अस्पताल फार्मेसीमा औषधि वितरण मा कार्यरत रहेका फर्मासिष्टले एप्रोनसँगै हरियो पृष्ठभूमिमा सेतो रंगको अक्षरमा नाम, पद र परिषद् दर्ता नम्बर तथा फार्मेसी सहायकले निलो पृष्ठभूमिमा सेतो रंगको अक्षरमा नाम, पद र परिषद् दर्ता नम्बर अनिवार्य राख्नुपर्ने छ।
यस्तो निर्णयले औषधी बिक्री वितरणमा आधिकारिक व्यक्ति मात्र संलग्न हुने र कुनै कैफियत देखिएमा कारबाही गर्न सहयोग पुग्ने परिषदका सजिष्ट्रार संजिवकुमार पाण्डेले बताए।
मन्त्री पौडेलले यस व्यवस्थाको अनुगमन कडा गर्न आग्रह गर्दै मन्त्रालयले कार्यान्वयनका लागि सघाउने प्रतिबद्धता जनाउँदै आएका छन। औषधीको बिक्री वितरणलाई व्यवस्थित र नियमित बनाउन मन्त्री पौडेलले औषधी व्यवस्था विभागलाईसमेत अनुगमन बढाउन सजग गराएका छन्।
मन्त्रालयका प्रवक्ता डाक्टर प्रकाश बुढाथोकीले परिषदको निर्णय कार्यान्वयनमा सघाउन मन्त्रालयले आवश्यक सबिलाई पत्राचार गरिसकेको बताए। यसका अलावा औषधी बिक्री वितरणमा बेथिति देखिए नदेखिएकोसमेत अनुगमन गर्ने र दोषी देखिएमा एकै साथ कारबाही अघि बढाइने उनले जानकारी दिए।
मन्त्री पौडेलले औषधीको मूल्य समायोजन गर्नका लागि गठन गरेको समितिले अहिले समायोजनका लागि आवश्यक काम गरिरहेको छ। समितिको सुझावअनुसार अधिकतम उपयोग हुने औषधीमा नागरिकलाई कम भार पर्ने गरी मूल्य समायोजन गर्ने मन्त्रालयको तयारी छ।



