काठमाडौं। श्रीलंकाको कोलम्बोमा आयोजित बंगालको खाडी बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोग प्रयास (बिम्स्टेक) को पहिलो स्वास्थ्य मन्त्रीस्तरीय बैठकमा स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले नेपालको प्रतिनिधित्व गरेकी छन्।
बैठकमा मन्त्री मेहताले क्षेत्रीय जनस्वास्थ्य सहकार्य, संक्रामक तथा पशुजन्य रोग नियन्त्रण, एन्टिमाइक्रोबियल प्रतिरोध (एएमआर), जलवायु परिवर्तनले स्वास्थ्य क्षेत्रमा पारेको प्रभाव तथा स्वास्थ्य आपत्कालीन अवस्थाको पूर्वतयारीलगायत विषयमा नेपालको प्राथमिकता र धारणा प्रस्तुत गरेकी थिइन्।
त्यसैगरी, सबै नागरिकका लागि गुणस्तरीय स्वास्थ्य सेवामा पहुँच सुनिश्चित गर्न क्षेत्रीय सहकार्य आवश्यक रहेको नेपालको धारणा उनले बैठकमा राखेकी थिइन्।
बैठकका क्रममा बिम्स्टेक सदस्य राष्ट्रका स्वास्थ्य मन्त्री तथा उच्चस्तरीय प्रतिनिधिमण्डलका प्रमुखहरूसँग पनि भेटघाट र छलफल भएको थियो। छलफलमा क्षेत्रीय स्वास्थ्य सहकार्य विस्तार, प्राविधिक ज्ञान तथा अनुभव आदानप्रदान र साझा स्वास्थ्य चुनौतीको सामूहिक समाधानका विषयमा विचारविमर्श भएको जनाइएको छ।
नेपालले क्षेत्रीय स्वास्थ्य प्रणालीलाई थप सबल, समावेशी र उत्थानशील बनाउन सदस्य राष्ट्रहरूबीच आपसी विश्वास, साझा जिम्मेवारी र प्रभावकारी सहकार्य आवश्यक रहेकोमा जोड दिएको छ।
मन्त्री मेहताको सहभागिताले क्षेत्रीय स्वास्थ्य एजेन्डामा नेपालको प्राथमिकता र प्रतिबद्धता प्रस्तुत गर्ने अवसर प्रदान गरेको छ।



