मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

राष्ट्रपति, प्रधानमन्त्रीदेखि सभामुखसम्मलाई `बाँसको कुर्सी´ पठाईंदै

राष्ट्रपति, प्रधानमन्त्रीदेखि सभामुखसम्मलाई `बाँसको कुर्सी´ पठाईंदै

images
२०८१ मंसिर २२ गते, शनिवार
२०८१ मंसिर २२ गते, शनिवार
  • खोटाङ। दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाले राष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीशसहितका नेपालका उच्च पदस्थ व्यक्तिलाई बाँसको कुर्सी उपहार दिने तयारी गरेको छ।

    images

    नगरपालिकासहित विभिन्न निकायको सहकार्यमा आगामी फागुन १५ देखि १७ गतेसम्म दिक्तेल बजारमा आयोजना गर्न लागिएको ‘प्रथम राष्ट्रिय बाँस सम्मेलन–२०८१’को अवसर पारेर राष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश, राष्ट्रियसभा अध्यक्ष र प्रतिनिधिसभाका सभामुखलाई एक–एक थान बाँसको कुर्सी उपहार दिने तयारी गरिएको हो।

    images

    बाँसको उपयोगितालाई व्यवहारमा कार्यान्वयन गर्न र सरकारलाई स्थानीय सामग्री प्रयोग गर्ने नीति व्यवहारमा कार्यान्वयन गर्न/गराउन खबरदारी गर्ने उद्देश्यले उच्च पदस्थ व्यक्तिलाई बाँसको कुर्सी उपहार दिने निर्णय गरिएको नगरप्रमुख तीर्थराज भट्टराईले बताए।

    ‘उच्च पदस्थ व्यक्तिहरूलाई बाँसको कुर्सी उपहार दिने भनेर कार्यपालिका बैठकले निर्णय गरिसकेका छौँ, निर्णयको प्रतिलिपिसहितको जानकारीपत्र राष्ट्रपतिसहित सबै उच्च पदस्थ व्यक्तिलाई पठाइसक्यौँ, उपहार दिने कुर्सी यही मंसिर २८ गतेदेखि वडा नं ६ नेर्पामा बनाउन सुरु गरिनेछ’, उनले भने, ‘उच्च पदस्थ व्यक्तिलाई उपहार दिने भनेपछि कुर्सी बनाउने क्रममा सुरक्षा संवेदनशीलता तथा कुनै कानूनी समस्या आउन सक्छ, त्यसका लागि सुरक्षा संयन्त्र परिचालन गरी सहजीकरण गर्ने वातावरण मिलाई दिन सम्बन्धित निकायमा अनुरोधसमेत गरेका छौँ।’

    प्रत्येक वडाबाट बाँससँग काम गर्ने १५ जना विज्ञ व्यक्तिहरू वडाले छनोट गर्ने र नगरबाट प्रोत्साहित गरेर छनोट भएका व्यक्तिहरूले सम्मेलनमा प्रदर्शनी गर्न र उच्च पदस्थ व्यक्तिहरूलाई उपहार दिने बाँसको कुर्सी बनाउने जनाइएको छ।

    ‘जहाँ बाँस त्यहाँ जीवन, जहाँ जीवन त्यहाँ बाँस’ भन्ने मूल नाराका साथ आयोजना गर्न लागिएको ‘प्रथम राष्ट्रिय बाँस सम्मेलन–२०८१’मा उपयोगविहीन बाँसको संरक्षण, व्यवस्थापन, दिगो उपयोग र उद्यमशीलता विकास गरी पर्यावरण संरक्षण, स्थानीय रोजगारी तथा राष्ट्रिय अर्थतन्त्रमा वृद्धि गर्दै समृद्ध नगरपालिका र राष्ट्र बनाउने उद्देश्य राखिएको नगर उपप्रमुख विशन राईले जानकारी दिए।

    राष्ट्रिय बाँस सम्मेलनका लागि नगरपालिकाका वन, वातावरण, फोहोरमैला तथा विपद् व्यवस्थापन समितिका संयोजक एवम् वडा नम्बर १० पाथेकाका वडाध्यक्ष मुगाधन राईको संयोजकत्वमा स्थानीय समितिसमेत गठन गरिएको छ।

    गत कात्तिक पहिलो साता नै आयोजना गर्ने भनिएको प्रथम राष्ट्रिय बाँस सम्मेलन सोही अवधिमा देशभर आएको भीषण वर्षा तथा बाढीपहिरोका कारण रोकिएकाले आगामी फागुन दोस्रो सात सम्पन्न गर्ने तयारी गरिएको नगरपालिकाले जनाएको छ।

    जिल्लाको सबैभन्दा ठूलो स्थानीय तह पन्ध्रवटा वडा भएको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाले यसअघिबाटै बाँसबाट बन्ने विभिन्न प्रकारका घरेलु सामग्रीको प्रवर्द्धन गर्दै आएको छ।

    जिल्लाको प्रमुख व्यापारिक केन्द्रमा पर्ने नगरपालिकाले बाँसबाट बन्ने विभिन्न प्रकारका घरेलु सामग्री तथा उद्योगलाई प्रवद्र्धन गर्ने नीति तथा कार्यक्रम ल्याएपछि बाँसका सामग्री उत्पादन गर्ने उद्योगहरूसमेत वृद्धि हुँदै गएको छ।

    बाँस उद्योग सञ्चालनका लागि नगरपालिकाले स्थानीय बासिन्दा एवम् उद्यमीलाई तालिम तथा सामग्री उपलब्ध गराउँदै आएको छ। नगरपालिकाका स्थानीय बासिन्दा एवम् उद्यमीले उत्पादन गरेका बाँसका विभिन्न प्रकारका घरेलु सामग्री दिक्तेलस्थित शपिङ कम्प्लेक्समा सञ्चालित कोसेलीघरले खरिद गरेर बिक्री गर्दै आएको छ।

    नगर प्रमुख भट्टराई र उपप्रमुख राईले आफ्नो कार्यकक्षमा स्थानीयस्तरमा उत्पादन गरिएका बाँसकै फर्निचर प्रयोग गरेका छन्। अघिल्लो नगर सरकारका प्रमुख दीपनारायण रिजाल र उपप्रमुख वीणादेवी राईले प्रयोग गर्नुभएको आयातीत फर्निचर हटाएर नगरप्रमुख भट्टराई र उपप्रमुख राईले स्थानीय बासिन्दा एवम् उद्यमीले स्थानीयस्तरमै उत्पादन गरेका बाँसका फर्निचर खरिद गरेर प्रयोग गरेका हुन्।

    नगरभित्र अत्यधिक मात्रामा मलीबाँस, ढुङ्ग्रे र भालु बाँससहित चोया बाँस, वन बाँस, करौती बाँस, मालिङ्गो बाँस, सिगानो बाँस, निगालो बाँस, मुक्तियालीलगायत १३ किसिमका बाँस पाइन्छन्। पूर्वी पहाडी जिल्ला खोटाङमा पशुपालनका लागि घाँस, घरेलु सामग्री निर्माण तथा सांस्कृतिक काममा समेत बाँस उपयोग गरिँदै आइएको छ।

    बाँसको क्षेत्रमा काम गर्दै आउनुभएका राष्ट्रिय बाँस अनुसन्धान तथा प्रवर्द्धन केन्द्रका अध्यक्ष केपी भट्टराईको पहलमा गत जेठमा काठमाडौँमा भएको सरोकारवाला व्यक्तिहरूको भेलाले दिक्तेल बजारमा पहिलोपटक राष्ट्रिय बाँस सम्मेलन गर्ने निर्णय गरेको थियो। सम्मलेलनका लागि वन, वातावरण तथा प्रविधि मन्त्रालयका पूर्वमन्त्री गणेश साहको संयोजकत्वमा समिति गठन गरिएको छ।

     

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend