काठमाडौं। परोपकार प्रसूति तथा स्त्री रोग अस्पताल (थापाथली प्रसूती गृह)मा नवजात शिशुमा वंशाणुगत रोग पत्ता लगाउने ‘न्यु बर्न स्क्रिनिङ’ सहित दुई नयाँ सेवा शुरु भएको छ।
आइतबार स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले थापाथलीस्थित प्रसूती गृहमा गर्भवती तथा सुत्केरीका लागि मानसिक स्वास्थ्य सेवाको ओपीडी र नवजात शिशुमा वंशाणुगत रोग पत्ता लगाउन ‘न्यु बर्न स्क्रिनिङ’ सेवाको शुभारम्भ गरेका हुन्।
‘न्यु बर्न स्क्रिनिङ’ सेवामार्फत बच्चा जन्मिएपछि उसमा बंशाणुगत रोग भए नभएको पत्ता लगाउन सकिने छ, यस्तै गर्भवती तथा सुत्केरीका लागि मानसिक स्वास्थ्य सेवाको ओपीडी संचालन भएपछि जन्मदैं गरेको बच्चाको शारीरिक, मानसिक र भावनात्मक वृद्धि विकासमा नकरात्मक असर पर्नबाट रोक्न सकिने छ।
सो सेवाको शुभारम्भ गर्दै स्वास्थ्य तथा जनसंख्यामन्त्री पौडेलले मनोस्वास्थ्य ओपीडीले गर्भवती तथा महिलालाई सहयोग पुर्याउने र त्यसले जन्मदैं गरेको बच्चालाईसमेत स्वस्थ रहन सहयोग गर्ने बताए।
‘मनोस्वास्थ्य ओपीडीले गर्भवती तथा महिलालाई सहयोग पुर्याउने र त्यसले जन्मदैं गरेको बच्चालाईसमेत स्वस्थ रहन सहयोग गर्ने भएकाले यो सेवा महत्त्वपूर्ण छ, नवजात शिशुहरुको परीक्षण सेवा पनि अत्यावश्यक सेवा हो।’मन्त्री पौडेलले भने।
मन्त्री पौडेलले सो सेवाको व्यवस्थापनका लागि आवश्यक साधन स्रोतको कमी हुन नदिनेसमेत प्रतिबद्धता जनाए।
उनले जन्मजात शिशुहरुमा हुने परिक्षणबाट शिशुहरुमा कुनै समस्या भए स्क्रिनिङ गरेर उपचार गर्ने परिस्थिति निर्माण गर्न जरुरी रहेको बताए। बालबालिकाहरुमा उमेर बढ्दै जाँदा विकसित हुँदै जाने समस्याहरुको पहिचान गरेरे शुरुमै उपचार गर्ने स्थिति बनाउन सक्नुपर्ने र त्यसतर्फ सरकारको चिन्ता रहेको बताए।
‘जन्मिएको बच्चालाई विशेषज्ञ चिकित्सकले ओल्टाइपल्टाइ हेर्ने र उसको पूर्णअंग विकसित भएको निस्कर्ष निकाल्ने स्थिति बन्नुपर्यो, कुनै समस्या रहेछ भने बच्चाको स्क्रिनिङ गरेर उपचार गर्ने परिस्थिति हामीले निर्माण गर्न सक्नुपर्छ। त्यो प्रसुतीबाट शुरु भएको छ।’ मन्त्री पौडेलले भने।
उनले प्रसुती गृहकै नेतृत्वमा अन्य अस्पतालहरुमा पनि सो सेवा विस्तार गर्नेसमेत प्रतिबद्धता जनाए।
सातै प्रदेशमा अटिजम भएका बच्चाहरुलाई तालिम दिने केन्द्रहरु बनाउने कोशिस गरिरहेको भन्दै मन्त्री पौडेलले बच्चाहरुमा देखिने अन्य समस्याहरु र उमेर बढ्दै जाँदा विकसित हुँदै जाने समस्याहरुको पहिचान गरेर शुरुमै उपचार गर्ने स्थिति बनाउन सक्नु पर्ने बताए।
प्रसूती गृहका निर्देशक डा श्रीप्रसाद अधिकारीले गर्भधारण गरेका वा सुत्केरीमा समस्याको जोखिम बढी भएकाले मनोस्वास्थ्य ओपिडि सेवा शुरु गरिएको बताए।
उनले भने, ‘गर्भवती तथा सुत्केरी अवस्थामा हुने मानसिक स्वास्थ्य समस्याहरुले महिलाको मात्रै नभएर बच्चाको समेत शारीरिक, मानसिक र भावनात्मक वृद्धि विकासमा नकरात्मक असर पर्छ, यस्तो अवस्थामा देखिने समस्यालाई समयमै पहिचान गर्न सकिएमा समाधान गर्न सकिन्छ।’
डा अधिकारीले नवजात शिशुमा हुनसक्ने ‘मेटाबोलिक डिसअर्डर’ पहिचान गरी समयमै उपचार गर्न र नवजात शिशुको मृत्युदर घटाउनका लागि सेवा शुरु गरिएको बताए। अस्पतालले गत साउनदेखि हालसम्म २०५ जना शिशुहरुमा यो परीक्षण गरिसकेको छ।
के हो न्यु बर्न स्क्रिनिङ?
नवजात शिशु जन्मेको केही दिनभित्र गरिने ‘ब्लड स्पट टेस्ट’लाई ‘न्यु बर्न स्क्रिनिङ टेस्ट’ भनिन्छ। उक्त जाँचबाट नवजात शिशुमा हुनसक्ने विभिन्न प्रकारका वंशाणुगत समस्या पत्ता लगाउन सकिन्छ।
उक्त परीक्षणबाट हाल छ वटा वंशाणुगत रोगहरु पहिचान गर्न सकिने डा अधिकारीले जानकारी दिए। त्यसरी टेस्ट गर्दा परीक्षणमा पोजिटिभ आएका शिशुका लागि तुरुन्त आवश्यक उपचार शुरु गरिने उनले जानकारी दिए। उनले अस्पतालले भविष्यमा थप साधन स्रोत थपेर अरु रोगका लागि पनि सेवा सञ्चालन गर्ने लक्ष्य राखेको बताए।



