ललितपुर। नख्खु खोला किनारमा पालिएका बंगुरमा देखिएको अफ्रिकन ‘स्वाइन फिभर’ को सङ्क्रमण दक्षिणकालीमा पनि देखिन थालेको छ।
नख्खु आसपासमा मात्रै अफ्रिकन ‘स्वाइन फिभर’ को सङ्क्रमणबाट दुई सय बढी बंगुर मरिसकेका छन्। जिल्ला पशुसेवा कार्यलय ललितपुरले किसानले पालेका बंगुर मर्न थालेपछि परीक्षण गर्दा अफ्रिकन ‘स्वाइन फिभर’ को सङ्क्रमण पुष्टि भएको जनाएको छ।
खोरमा पालिएका बंगुर धमाधम मर्न थालेपछि किसान पीडित बनेका छन। ललितपुर महानगरपालिका पशुसेवा विभागले बंगुर मर्न थालेपछि परिक्षण अघि बढाएको थियो।
ललितपुर महानगरपालिका–२२ चुनिखेल, धापासी, नख्खु खोला करिडोरलगायत क्षेत्रमा पालिएका बंगुर मरेका थिए।
केन्द्रीय पशुरोग अन्वेषण प्रयोगशाला त्रिपुरेश्वरमा गरेको पिसिआर परीक्षणको नतिजाअनुसार नख्खु करिडोर छेउछाउमा किसानले पालेका बंगुरमा अफ्रिकन ‘स्वाइन फिभर’ देखा परेकोमा अहिले दक्षिणकालीमा समेत देखिन थालेको छ।
गत कात्तिकको अन्तिम साता नख्खु खोला आसपासमा किसानले पालेका बंगुरमा सो रोग देखा परेको थियो। हाल सङ्क्रमण फैलिँदै गएको जिल्ला पशुसेवा कार्यालयका प्रमुख प्रभात न्यौपानेले जानकारी दिए।
“रोग फैलिँदै गएको छ, अहिलेसम्मको तथ्याङ्कका आधारमा किसानका दुई सय भन्दाबढी बंगुर मरेका छन् , अहिले दक्षिणकालीमा सङ्क्रमण बढी देखिएको।” न्यौपानेले भने।
बंगुरमा देखिने अफ्रिकन ‘स्वाइन फिभर’ पशुमा तीव्र रूपमा फैलिनसक्ने भएकाले ललितपुर महानगरपालिका पशु सेवा शाखाले बंगुर किसानलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।
दुई सयबढी बंगुर मरेकाले किसानलाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको पशुसेवा शाखा प्रमुख राजेन्द्र विष्टले जानकारी दिए। यो रोग पशुमा छिटो सर्ने भएकाले संक्रमित बंगुरलाई अलगै राख्नु पर्ने उनको भनाइ छ।
केन्द्रीय पशुसेवा विभागका सूचना अधिकारी सुधीरकुमार सिंहले समेत बंगुरलाई सो सङ्क्रमणबाट बचाउन खोप उपलब्ध नभएकाले सङ्क्रमण देखा परे छुट्टै खोरमा राखी दानापानी दिनुपर्ने बताए।
अफ्रिकन स्वाइन फिभर पशुबाट मानिसमा भने नसर्ने बताउँदै पशुबाट पशुमा सर्ने जोखिम रहेकाले पशु स्याहारमा विशेष सावधानी अपनाउनुपर्ने विभागका सूचना अधिकारी सिंहले जानकारी दिए।
यो सङ्क्रमण भएमा एक सय चारदेखि एक सय सातडिग्री फरेनहाइट ज्वरो आउने, कान, पुच्छर, पेटको तल्लो भागको बाहिरी छाला रातो हुने, शरीरमा निलो धब्बा देखिने, खाना नखाने, बान्ता गर्ने, छट्पटाउने, तुहिनेलगायत लक्षण देखापर्ने बताइएको छ।



