काठमाडौं। राहदानी विभागले गत मंसिर ५ गतेबाट बन्द गरेको राहदानी वितरण कार्यको सेवा २२ दिनपछि सुरु गरेको छ।
राहदानी प्रणालीमा साइबर आक्रमण भएपछि नयाँ राहदानी बनाउने तथा वितरण गने कार्य बन्द भएको थियो।
हालका लागि २२ वटा जिल्ला तथा इलाका प्रशासन कार्यालय र विदेशस्थित नेपाली नियोगबाट रोकिएको राहदानी सेवा पुनः सुचारु भएको विभागले सुचना प्रकाशित गर्दै जनाएको हो।
अहिले काठमाडौंको त्रिपुरेश्वरस्थित राहदानी विभागमा विना कुनै अवरोध सेवा सञ्चालन भइरहेको र आकस्मिक सेवा लिन चाहने सेवाग्राहीले सहज रूपमा विभागबाट सेवा लिइरहेको विभागले जनाएको छ।
अझैसम्म सबै जिल्ला र विदेशस्थित नियोगमा सेवा संचालन हुन सकेको छैन। तर सुचारू गर्ने प्रयास भने भैरहेको विभागले जनाएको छ।
‘हालसम्म जिल्ला/इलाका प्रशासन कार्यालयहरू तथा विदेशस्थित नेपाली नियोगहरू गरी २२ स्थानबाट सेवा सुचारु गरिएको र अन्य स्थानहरूबाट क्रमशः तीव्रता पूर्वक काम भइरहेकोले केही दिन भित्रमा सबै स्थानबाट सेवा सुचारु गरिने छ,’ विभागले जारी गरेको सूचनामा भनिएको छ ।
यसअघि आवेदन गरिसकेका (बायोमेट्रिक समेत) सेवाग्राहीको राहदानी छपाइ गरी नियमित प्रक्रियाबाट सम्बन्धित जिल्ला/इलाका प्रशासन कार्यालयहरू तथा विदेशस्थित नेपाली नियोगहरूमा पठाउने काम भइरहेको सूचनामा उल्लेख छ।
सेवाग्राहीलाई पर्न जाने असुविधा प्रति विभाग संवेदनशील रहेको भन्दै विभागले असुविधाप्रति क्षमायाचना गरेको छ।
विद्युतीय राहदानी प्रणालीमाथि साइबर हमला भएपछि ५ मंसिरदेखि १० मंसिरम्म विभागको सेवा ठप्प भएको थियो। त्यसपछि विभागको कार्यालयबाट द्रुत सेवामा मात्रै राहदानी दिने सुविधा दिइएकोमा विभागले क्रमशः जिल्लास्थित प्रशासन कार्यालयहरु र विदेशस्थित नियोगमा सेवा पुनः सुरु गर्दै लगेको छ।



