काठमाडौ। गृहमन्त्री रमेश लेखकले संघ, प्रदेश र स्थानीय गरी तीन वटै तहले विपद् व्यवस्थापनमा मिलेर काम गर्नुपर्ने बताएका छन।
आइतबार ललितपुरको बाढी प्रभावित क्षेत्रको निरीक्षणपछि जिल्ला प्रशासन कार्यालय ललितपुरमा आयोजित विपद् व्यवस्थापन समितिको बैठकमा बोल्दै गृहमन्त्री लेखकले विपद्को समयमा सबै गुनासा र विमतिलाई थाती राखेर सबै मिलेर एकाकार भएर काम गर्नुपर्ने बताए।
`राजनीतिक दलहरुले हिजो पनि विपदका समयमा एकजुट भएर सामना गरेको इतिहास छ, अहिलेको पीडादायी अवस्थामा पनि सबै मिलेर अघि बढ्नुपर्छ।´लेखकले भने।
उनले खोज उद्धारका साथै तत्कालै राहत र अत्यावश्यक सेवाको सुनिश्चितता गर्न स्थानीय प्रसाशनलाई आग्रह गर्दै सडकबाट सम्वभ नभए हेलिकप्टेर प्रयोग गरेर भएपनि राहत उपलब्ध गरौन आग्रह गरे।
मन्त्री लेखकले पूर्ण रुपले घर क्षति भएका र अस्थायी आवास निर्माणका लागि सरकारले उपलब्ध गराउने सहयोग रकम पाउन योग्य लाभग्राहीको नाम स्थानीय तहबाट तत्कालै पठाउन समेत आग्रह गरे।
`एकद्वार प्रणालीबाट राहत वितरण गर्ने भनिएपनि स्थानीय तहको जिम्मेवारीमा दिन सकिन्छ, सम्वन्धित पालिकाको समन्वयमा नेपाल प्रहरी र सशस्त्र प्रहरी राखेर राहत व्यवस्थापन गर्न सकिन्छ, तहगत विभाग र विद्युत, खानेपानी र सञ्चार क्षेत्रमा जिम्मेवारीमा रहेकाहरुले समस्या पहिचान गरेर समन्वय इमानदारीपूर्वक काम गर्नुस् ।´ गृहमन्त्री लेखकले भने।
सरकारले ललितपुरमा विपदमा परेर मृत्यु भएका ४५ मध्ये ३९ जना मृतकका परिवारलाई राहत रकम उपलब्ध गराइसकेको छ ।
बैठकमा प्रतिनिधिसभा सदस्य उदय शमशेर राणा, डा. तोसिमा कार्की, प्रेमबहादुर महर्जन लगायतले आफ्नो धारणा राखेका थिए ।



