काठमाडौँ। नेपाली सेनाले बुढीगण्डकी बाढी प्रभावित ३६ जनाको हेलिकप्टरबाट उद्धार गरेको छ।
आइतबार मध्याह्न १२ बजेसम्म सेनाले हेलिकप्टरबाट ३६ जनाको उद्धार गरिएको जनाएको हो। सेनाले एमआई-१७ सहित ४ वटा हेलिकोप्टर तथा स्थलमार्गबाट खटिएको फौजद्वारा ती ब्यक्तिहरुको उद्धार गरिएको जानकारी दिएको हो।
जसअनुसार, सेनाका फौजद्वारा हालसम्म जगत इलाकाबाट ६ जना, न्याक्फेदीबाट ९ जना तथा यारुबाट १ शिशु तथा १ विदेशी नागरिकसहित ९ जना र पायुबाट १२ जना गरी हालसम्म जम्मा ३६ जनाको उद्धार गरिएको जानकारी दिएको हो।
अन्य सुरक्षा निकाय तथा सरकारवालाहरूसँगको समन्वयमा थप खोज तथा उद्धार कार्य भइरहेको सेनाको जनसम्पर्क निर्देशनालयले जनाएको छ।
आइतबार बिहानै बुढीगण्डकीमा लेदोसहितको बाढी आएपछि जनजीवन प्रभावित बनेको छ।



