काठमाडौं । नेपाली राइड सेयरिङ कम्पनी आयोयुजरले निशुल्क स्कुटर प्रदान गरेको छ। Ayo user एपको माध्यामबाट राइड सेयरिङ सेवा दिदै आएका राइडर दीपक गोलेलाई निशुल्क स्कूटर उपलब्ध गराएको हो।
एक औपचारिक कार्यक्रमकाबीच गोलेलाई कम्पनीका कार्यकारी निर्देशक इभाना मानन्धरले टिभीएस कम्पनीको स्कूटरको चावी हस्तान्तरण गरिन। उक्त स्कुटरको बजार मूल्य २ लाख ८० हजार पर्न जान्छ। स्कुटर उपहार पाएका गोलेले नेपालमा धेरै राइड सेयरिङ भएपनि नेपाली राइड सेयरिङ चलाउन धेरै गाह्रो भएको बताए।
उनले भने– ‘नेपालमा धेरै राइड सेयरिङ छन, नेपाली राइड सेयरिङ चलाउन धेरै गाह्रो छ। तर नेपालीहरुलाई नै सहयोग गरौं भनेर निरन्तर अनलाइन बसीरहेँ। ५–६ किलोमिटरको दूरी सम्म पनि निस्वार्थ भावनाले नेपाली हो भनेर सहयोगका लागी राइड उठाउन जान्थेँ।’
आफुले लामो समय यही क्षेत्रमा काम गरिरहेपनि खासै फाइदा नभएको तर नेपाली भएर नेपाली कम्पनी र नेपाली दिदी बहिनी दाजुभाइलाई सहयोग गर्नपाएकोमा उनि सन्तुष्ट देखिएका छन्। गोलेले भने ‘कर्म गर फलको आश नगर भनेर गितामा भनेजस्तै आज मैले केही आश नगरेपनि स्कुटर उपाहार पाउँदा धेरै खुसी छु, म अरु राइडर साथिहरुलाई समेत नेपाली राइड सेयरिङलाई सहयोग समर्थन गरौं भन्न चाहान्छु।’
भरोसा नेटवर्क प्रालिले नेपाली एप कम्पनी ( Ayo user ) मार्फत राइड सेयरिङको बजार विस्तार गरी नेपालीलाई रोजगारी र सेवा उपलब्ध गराउदै आएको छ।
राइड सेयरिङ देखि व्यापारमा समेत विदेशी कम्पनीहरुको बर्चश्व रहेको र नेपाली कम्पनीहरु दिगो हुन नसकेको बेला भरोसाले नेपालीहरुकै लागी विशिष्ट सेवा दिएर बजारमा नेपालीको छाप छाड्न खोजेको जनाएको छ। सो एपमा अहिले करिव ३ हजार राइडर आवद्ध भएपनि ७५–१०० राइडरहरु नियमित सेवामा छन्।
कम्पनीले वाइक नभएर वेरोजगार भएका तर, आयो राइडरमार्फत स्वरोजगार बन्न चाहाने युवाहरुका लागी सुलभ शुल्कमा दैनिक मोटसाइकल तथा स्कुटर उपलब्ध गराउने समेत बताएको छ। यो एप एक ठाउँबाट अर्को ठाउँ सम्म सामान ओसारपसार गर्न मोटसाइकल देखि १० चक्के ट्रक समेत उपलब्ध गराउन सक्ने नेपालकै पहिलो एप भएको कम्पनीले दावी गरेको छ।



