काठमाडौँ। बूढीगण्डकी नदीमा आएको बाढीले गोरखामा ६ वटा पुल र करिब ३५ घर बगाएको छ भने कम्तिमा १० जनासम्पर्कविहीन भएका छन्।
बाढीले चुमनुब्री गाउँपालिका–३ पैयुँ तथा बगरका करिब ३५ घर बगाएको प्रारम्भिक अनुमान छ। गोरखाका सहायक प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माका अनुसार बाढीले दुई वटा मोटरेबल पुल र चार वटा झोलुङ्गे पुल बगाएको छ।
बाढीले आरुघाट तथा धादिङको त्रिपुरासुन्दरी जोड्ने र आरुघाटको सोती तथा मान्बु जोड्ने पक्की पुल बगाएको उनले जानकारी दिए। त्यसैगरी, धार्चे गाउँपालिका–१ र ३ जोड्ने बेलिब्रिज पनि बाढीले बगाएको छ।
बाढीले माछिखोला र केरौँजा जोड्ने झोलुङ्गे पुल, चुमनुब्रीको ठाडो भर्याङ र जगत् जोड्ने पुल तथा सिर्दिबासको घट्टेखोला र फिलिम जोड्ने झोलुङ्गे पुलसमेत बगाएको छ।
बाढीबाट जगत्, सल्लेरी, दोभान र घट्टेखोला क्षेत्रमा पनि क्षति पुगेको छ। बाढीका कारण भएको मानवीय तथा भौतिक क्षतिको थप विवरण सङ्कलन भइरहेको छ।



