मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

मानसिक स्वास्थ्यमा प्रभावित व्यक्तिको आवाज सुन्न स्वास्थ्य मन्त्रालयको आग्रह

मानसिक स्वास्थ्यमा प्रभावित व्यक्तिको आवाज सुन्न स्वास्थ्य मन्त्रालयको आग्रह

images
एक्सरे नेपाल
२०८३ आश्विन २४ गते, शनिवार
एक्सरे नेपाल
२०८३ आश्विन २४ गते, शनिवार
  • काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विश्व मानसिक स्वास्थ्य दिवस २०२६ को अवसरमा मानसिक स्वास्थ्य समस्याबाट प्रभावित व्यक्तिको जीवन अनुभव, आवाज र आवश्यकतालाई नीति निर्माण तथा सेवा प्रवाहमा समेट्न आग्रह गरेको छ।

    images

    हरेक वर्ष अक्टोबर १० मा मनाइने विश्व मानसिक स्वास्थ्य दिवस यस वर्ष ‘जीवन्त अनुभवको सुनुवाइ, वास्तविक आवाज, वास्तविक परिवर्तन’ भन्ने नाराका साथ मनाइँदैछ।

    images

    मन्त्रालयका अनुसार मानसिक स्वास्थ्य समस्याबाट प्रभावित व्यक्तिले आफ्नै अनुभवबाट प्राप्त गरेको ज्ञान र बुझाइ मानसिक स्वास्थ्य सेवा सुधारका लागि महत्वपूर्ण हुन्छ। यस्ता व्यक्तिको अनुभवलाई नीति निर्माण, कार्यान्वयन, अनुगमन तथा मूल्यांकन प्रक्रियामा अर्थपूर्ण रूपमा समावेश गर्दा मानसिक स्वास्थ्य सेवा थप प्रभावकारी, व्यक्तिकेन्द्रित र आवश्यकतामा आधारित बनाउन सकिन्छ।

    विश्व स्वास्थ्य संगठनका अनुसार सन् २०२३ मा विश्वभर करिब हरेक सात जनामध्ये एक जना कुनै न कुनै मानसिक स्वास्थ्य समस्याबाट प्रभावित थिए। नेपालमा राष्ट्रिय मानसिक स्वास्थ्य सर्वेक्षण २०२० अनुसार करिब १० प्रतिशत वयस्कले आफ्नो जीवनकालमा कुनै न कुनै मानसिक स्वास्थ्य समस्या अनुभव गरेका छन्।

    नेपालको संविधानको धारा ३५ र जनस्वास्थ्य सेवा ऐन, २०७५ ले मानसिक स्वास्थ्यलाई आधारभूत स्वास्थ्य सेवाको अभिन्न अंगका रूपमा स्थापित गरेको मन्त्रालयले जनाएको छ। राष्ट्रिय मानसिक स्वास्थ्य रणनीति तथा कार्ययोजना २०७७ ले प्राथमिक स्वास्थ्य सेवामा मानसिक स्वास्थ्य एकीकरण, लाञ्छना र भेदभाव न्यूनीकरण तथा मानव अधिकार सुनिश्चिततामा जोड दिएको छ।

    मन्त्रालयले मानसिक स्वास्थ्य सेवाको पहुँच विस्तार गर्न mhGAP तालिम, सामुदायिक मानसिक स्वास्थ्य कार्यक्रम, बाल तथा किशोरकिशोरी र मातृ मानसिक स्वास्थ्य सेवा, आत्महत्याको दर्ता प्रणाली, निःशुल्क औषधिको उपलब्धता तथा राष्ट्रिय आत्महत्या रोकथाम हेल्पलाइन ११६६ लगायतका कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ।

    यस वर्ष रसुवा तथा नुवाकोटलगायतका जिल्लामा बाढीपहिरोबाट प्रभावित व्यक्ति तथा परिवारलाई मानसिक स्वास्थ्य र मनोसामाजिक सहयोग उपलब्ध गराइएको मन्त्रालयले जनाएको छ। प्रभावित समुदायको आवश्यकता सम्बोधन गर्न सम्बन्धित निकायबीच समन्वय र सहयोगलाई निरन्तरता दिनुपर्नेमा पनि मन्त्रालयले जोड दिएको छ।

    मन्त्रालयले मानसिक स्वास्थ्यसम्बन्धी लाञ्छना, भेदभाव र अन्धविश्वास हटाउँदै सहयोगी वातावरण निर्माण गर्न, नियमित मानसिक स्वास्थ्य जाँच गराउन तथा जोखिममा रहेका समूहलाई विशेष प्राथमिकता दिन सबैमा आग्रह गरेको छ।

    मानसिक स्वास्थ्यसम्बन्धी समस्या वा आत्महत्याको सोच आएमा राष्ट्रिय आत्महत्या रोकथाम हेल्पलाइन ११६६ मा सम्पर्क गर्न मन्त्रालयले अनुरोध गरेको छ।

    स्वास्थ्य सेवा विभाग, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. अनुज भट्टचनले जीवन्त अनुभव भएका व्यक्तिको आवाजलाई सम्मानपूर्वक सुन्न र मानसिक स्वास्थ्य प्रवर्द्धन तथा आत्महत्या रोकथामलाई साझा जिम्मेवारीका रूपमा अघि बढाउन सबैलाई आग्रह गरेका छन्।

     

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend