काठमाडौं। काठमाडौँ महानगर प्रहरी बलका ८३ जना नगर प्रहरी जवानलाई आधारभूत तालिम प्रदान गरिएको छ। कार्तिक ६ गते सुरु भएको तालिम मंसिर १७ गते सकिएको थियो।
तालिम समापनका अवसरमा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँले ८३ जनालाई प्रमाणपत्र प्रदान गरेका हुन ।
यसअघि गत भदौ ४ गतेदेखि पहिलो चरणको तालिम सुरु गरिएको थियो। असोज १० गते सकिएको यो चरणको तालिममा ११० जना जवानलाई सहभागी गराइएको थियो। यसरी २ चरमा १९३ जना जवानलाई आधारभूत तालिम प्रदान गरिएको छ।
नगर प्रहरीलाई कर्तव्यनिष्ठ, अनुशासित, साहसिक, फौजी सिप एवं कौशलले भरिएको व्यावसायिक बनाउन, महानगरपालिका र महानगरबासीप्रति समर्पित रहेर सेवा भावबाट काम गर्ने क्षमताका लागि तालिम प्रदान गरिएको हो।
तालिममा शारीरिक तन्दुरुस्ती, कवाज, विशिष्ट पदाधिकारी र उनीहरू सम्बद्ध कार्यक्रम व्यवस्थापन, पब्लिक अर्डर म्यानेजमेन्ट, म्याप रिडिङ्, पुलिस प्याकेज, अनआर्म कम्व्याट, आपत्कालीन उद्धार, ट्राफिक व्यवस्थापन, मानव अधिकारलगायत विषयमा कक्षा सञ्चालन गरिएको थियो।
प्रमाणपत्र वितरण गर्दै महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँले नगर प्रहरीको पेसागत दक्षता र सांगठनिक नेतृत्व वृद्धि भएको तथा पदीय दायित्व निर्वाह गर्न क्षमता विकास भएको अपेक्षा व्यक्त गरे।
तालिम केन्द्रका प्रमुख सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र खड्काले, केन्द्रबाट नगर प्रहरीलाई दिइएको यो पहिलो तालिम भएको उल्लेख गरे। यो तालिम शान्ति सुरक्षा र अमनचैनका लागि क्षेत्रगत सुरक्षाकर्मीहरूका बिचमा समन्वयको थालनी भएको उनको भनाइ थियो।
सहरी सुव्यवस्थापनका नगर प्रहरीको क्षमता र दक्षता बढाउन तालिम कार्यक्रम सञ्चालन भइरहेका छन्। महानगर प्रहरी बलका प्रमुख नगर प्रहरी वरिष्ठ उपरीक्षक राजुनाथ पाण्डेले भने, ‘आउँदो कार्तिक ३ गतेदेखि अर्को समूहलाई तालिमका लागि पठाउनेछौँ।´
यसपटक ३० दिन अवधिको तालिममा ७१ जना पुरुष र ३९ जना महिला प्रहरी सहभागी थिए। समापन कार्यक्रममा प्रशासन विभागका प्रमुख नमराज ढकाल, मानव संसाधन महाशाखा प्रमुख प्रवीण प्याकुरेलसहित अधिकारी सहभागी थिए।



