काठमाडौँ। सल्यानमा फैलिएको स्क्रब टाईफस नियन्त्रणउन्मुख रहेको स्वास्थ्य सेवा विभागले जनाएको छ।
पछिल्लो २४ घण्टामा सल्यानमा नयाँ संक्रमित नदेखिएको विभागले जनाएको छ। पछिल्लो एक हप्तामा देश भरमा ५०१ जना र सल्यान जिल्लामा ९४ जना संक्रमित देखिएकोमा पछिल्लो २४ घण्टामा देश भरमा जम्मा ४ जना स्क्रब टाईफसका बिरामी देखिए पनि सल्यानमा कुनै पनि स्क्रब टाईफसका संक्रमित नदेखिएको विभागको भनाइ छ।
सल्यानमा फैलिएको स्क्रब टाईफसको थप अनुसन्धान तथा रणनीति तय गर्न खटिएको स्वास्थ्य सेवा विभागको टोलीले आइतबार जिल्लास्थित प्रमुख जिल्ला अधिकारी तथा सुरक्षा निकायका प्रमुखहरुसँग छलफल गरेको छ।
विभागको टोलीले आइतबार जिल्लास्थित प्रमुख जिल्ला अधिकारी तथा सुरक्षा निकायका प्रमुखहरु, पत्रकार र स्वास्थ्य सेवा कार्यालयको टोलीसँग छलफल गरेको हो।

उक्त छलफल कार्यक्रममा हालसम्म भए गरेका कार्यहरु तथा थप कार्यहरुको विषयमा गहन छलफल भएको थियो। कर्णाली प्रदेशबाट खटिएको FETP तालिम प्राप्त जनशक्ति सहितको टोलीले दार्मा गाउँपालिकामा रहेर अनुसन्धानलाई निरन्तरता दिएको छ।
यसैबीच दाङ जिल्लाको घोराहीमा पनि देखिएको स्क्रब टाईफसको संक्रमणको अवस्था तथा आगामी रणनीतिहरु तय गर्न नगर प्रमुख नरुलाल चौधरी सहित स्वास्थ्य शाखा र स्वास्थ्य सेवा विभाग, ईपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको टोलीले विस्तृत छलफल गरेको छ।
स्वास्थ्य संस्थाहरुमा टेस्टिङ तथा पर्याप्त औषधीको व्यवस्था गरी कुनै पनि संक्रमितको समयमै उपचारको व्यवस्था गर्ने, संक्रमण देखिएको खण्डमा तोकिएको सुचना प्रणाली SORMAS मा प्रतिवेदन गर्ने तथा जनचेतनाका क्रियाकलापहरु निरन्तर सञ्चालन गर्ने विषयमा छलफल भएको छ।
यसका साथै घोराही स्थित संजिवनी टिचिङ् हस्पिटलमा अस्पताल व्यवस्थापन सँग छलफल तथा निगरानी प्रणालीलाई सुदृढ गर्ने विषयमा फलदायी छलफल भएको विभागले जनाएको छ।



