मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

डेमोक्रेसी र डेलिभरीबीच पुलको काम कांग्रेसले गर्छ : गगन थापा

डेमोक्रेसी र डेलिभरीबीच पुलको काम कांग्रेसले गर्छ : गगन थापा

images
२०८३ आश्विन १८ गते, आइतवार
२०८३ आश्विन १८ गते, आइतवार
  • काठमाडौं। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले लोकतन्त्र र जनतालाई प्रत्यक्ष सेवा तथा परिणामसँग जोड्ने पुलको काम कांग्रेसले गर्नुपर्ने बताएका छन्।

    images

    मुलुकमा लामो राजनीतिक संघर्ष र परिवर्तन भए पनि रोजगारी सिर्जना, युवा पलायन रोक्ने र जनताको जीवनस्तर सुधार्ने विषयमा अब सबै राजनीतिक दल मिलेर गम्भीर समीक्षा गर्नुपर्ने उनको भनाइ छ।

    images

    नेपाली कांग्रेसको १५औँ महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै थापाले राष्ट्रिय स्वतन्त्र पार्टीको नेतृत्वमा सरकार बनेको वर्तमान राजनीतिक अवस्थालाई पनि विगतको राजनीतिक यात्रासँग जोडेर हेर्नुपर्ने बताए।

    ‘३५ वर्षदेखि युद्ध किन व्यहोर्‍यौँ? शान्ति प्रक्रियामा पनि यहीँ भयो। यही ३५ वर्षभित्र सबै गाउँ रित्तिए। किन रोजगारी भएन? युवा किन पलायन भयो?’ थापाले प्रश्न गरे।

    मुलुकले लामो समय राजनीतिक संघर्ष र संक्रमण व्यहोरे पनि त्यसको प्रतिफल जनताको दैनिक जीवनमा पर्याप्त रूपमा पुग्न नसकेको भन्दै उनले यसको कारण सबै राजनीतिक दलले मिलेर खोज्नुपर्ने बताए। राजनीतिक परिवर्तनसँगै आर्थिक र सामाजिक रूपान्तरणलाई पनि सँगसँगै अघि बढाउनुपर्ने उनको भनाइ थियो।

    ‘यो विषय हामी सबै मिलेर खोज्नुपर्छ। हामी महाधिवेशनमा यही कुरा डेलिभरी दिनका लागि के गर्ने, कांग्रेस कस्तो बनाउने भनेर मन्थन गर्नेछौँ,’ थापाले भने।

    कांग्रेसले अब लोकतन्त्रको कुरा मात्रै नगरी जनतालाई परिणाम दिने राजनीतिक शक्तिका रूपमा आफूलाई स्थापित गर्नुपर्ने उनले बताए। लोकतान्त्रिक व्यवस्था र जनताको अपेक्षाबीचको दूरी घटाउने जिम्मेवारी कांग्रेसले लिनुपर्ने उनको भनाइ थियो।

    ‘डेमोक्रेसी र डेलिभरीको पुलको काम कांग्रेसले गर्छ,’ थापाले भने, ‘पुराना र नयाँ पुस्तालाई जोड्ने काम कांग्रेसले गर्छ। यही संकल्प गर्छ।’

    कांग्रेस कमजोर वा निष्क्रिय हुँदा लोकतान्त्रिक व्यवस्था र जनताबीचको विश्वासमा समेत असर पर्न सक्ने उनले बताए। कांग्रेसले आफूलाई जनताको आवश्यकता र अपेक्षासँग जोडेर अघि बढाउनुपर्ने उनको भनाइ थियो।

    ‘आजको दिनमा नेपाली कांग्रेस बन्द भयो भने के हुन्छ भन्ने कुरा जनताले सोच्नुपर्ने बनाउने काम गर्नुपर्छ,’ उनले भने, ‘पुल ढल्यो भने विश्वास ढल्छ। त्यो विश्वासका लागि कांग्रेसले काम गर्नुपर्ने छ।’

    थापाले कांग्रेसले आफ्नो राजनीतिक सिद्धान्त र मूल्यमा स्पष्ट भएर अघि बढ्नुपर्ने बताए। तत्कालको राजनीतिक लाभका लागि सिद्धान्तसँग सम्झौता गर्ने प्रवृत्तिबाट पार्टी टाढा रहनुपर्ने उनको भनाइ थियो।

    ‘हामी लाउलापाते होइनौँ, हामी स्पष्ट हुन्छौँ। सिद्धान्तमा अडिनुपर्दा पाँच वटा चुनाव हार्न तयार छौँ, तर सिद्धान्तसँग सम्झौता गर्दैनौँ भन्ने हुनुपर्छ,’ उनले भने।

    आर्थिक विकास र रोजगारी सिर्जनाका लागि निजी क्षेत्र तथा उद्योगी व्यवसायीको भूमिकालाई सम्मान गर्नुपर्नेमा पनि थापाले जोड दिए। उद्योगीले सम्मान पाउने वातावरण निर्माण गर्नुपर्ने भन्दै उनले उत्पादन, लगानी र रोजगारी विस्तारलाई राजनीतिक प्राथमिकतासँग जोड्नुपर्ने बताए।

    निर्वाचन आउने र जाने भए पनि त्यसको महत्वलाई बेवास्ता गर्न नहुने थापाले बताए। निर्वाचनको परिणाम महत्वपूर्ण भए पनि तत्कालको चुनावी लाभभन्दा दीर्घकालीन रूपमा देश र जनताको हितमा काम गर्ने राजनीतिक संस्कार आवश्यक रहेको उनको भनाइ थियो।

    थापाले १५औँ महाधिवेशनलाई कांग्रेसको नेतृत्व परिवर्तन गर्ने मात्रै नभई पार्टीको आगामी राजनीतिक दिशा, नीति र जनतालाई परिणाम दिने क्षमताबारे गम्भीर मन्थन गर्ने अवसरका रूपमा अघि बढाउने बताए।

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend