मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

कांग्रेसमा पदाधिकारी २१ पुग्ने, उपसभापति ४ र सहमहामन्त्री १३ बनाइँदै

कांग्रेसमा पदाधिकारी २१ पुग्ने, उपसभापति ४ र सहमहामन्त्री १३ बनाइँदै

images
२०८३ आश्विन १८ गते, आइतवार
२०८३ आश्विन १८ गते, आइतवार
  • काठमाडौं। नेपाली कांग्रेसमा पदाधिकारीको संख्या २१ पुर्‍याउने भएको छ। १५औँ महाधिवेशनको बन्दसत्रमा विधान संशोधन प्रस्ताव पेस गरेर यसलाई अनुमोदन गराउने तयारी नेताहरूले गरेका छन्।

    images

    नयाँ समझदारीअनुसार कांग्रेसमा एक सभापति, चार उपसभापति, दुई महामन्त्री, १३ सहमहामन्त्री र एक कोषाध्यक्ष गरी २१ जना पदाधिकारी रहनेछन्। हाल भने एक सभापति, दुई उपसभापति, दुई महामन्त्री, ११ सहमहामन्त्री र एक कोषाध्यक्ष गरी १७ जना पदाधिकारीको व्यवस्था छ।

    images

    नयाँ व्यवस्थामा उपसभापतिको संख्या दुईबाट बढाएर चार पुर्‍याउने समझदारी बनेको छ। चारमध्ये एक जना वरिष्ठ उपसभापति रहने प्रस्ताव छ। चारै उपसभापति निर्वाचनबाट चयन हुनेछन् भने कम्तीमा एक जना महिला अनिवार्य गर्ने प्रस्ताव गरिएको छ।

    त्यस्तै सहमहामन्त्रीको संख्या ११ बाट बढाएर १३ पुर्‍याउने समझदारी भएको छ। प्रस्तावअनुसार ११ जना सहमहामन्त्री निर्वाचनबाट आउनेछन् भने दुई जना केन्द्रीय सदस्यमध्येबाट सभापतिले मनोनीत गर्ने व्यवस्था गरिनेछ।

    हाल कांग्रेसमा आठ समावेशी समूहबाट आठ जना सहमहामन्त्री निर्वाचित हुने र तीन जना सभापतिले मनोनीत गर्ने व्यवस्था छ। विशेष महाधिवेशनबाट तीन जना मनोनीत सहमहामन्त्री थपिएपछि सहमहामन्त्रीको संख्या ११ पुगेको थियो। अब थप दुई पद सिर्जना गरेर संख्या १३ पुर्‍याउने समझदारी भएको हो।

    महामन्त्रीको संख्या भने दुईमै कायम राख्ने समझदारी भएको छ। केही नेताले महामन्त्रीको संख्या बढाएर तीन पुर्‍याउन माग गरे पनि त्यसमा सहमति नजुटेको नेताहरूले बताएका छन्।

    कोषाध्यक्ष भने केन्द्रीय सदस्यमध्येबाट सभापतिले मनोनीत गर्ने व्यवस्था रहनेछ। यसअघि पनि कोषाध्यक्ष सभापतिबाट मनोनीत हुने व्यवस्था थियो।

    केन्द्रीय समिति पनि २३२ सदस्यीय

    कांग्रेसको १५औँ महाधिवेशनबाट केन्द्रीय कार्यसमिति २३२ सदस्यीय हुनेछ। संशोधित विधानअनुसार १७१ जना महाधिवेशनबाट निर्वाचित हुनेछन् भने ६१ जना सभापतिले मनोनीत गर्ने व्यवस्था छ।

    यसरी नयाँ समझदारीअनुसार पदाधिकारीको संख्या बढे पनि केन्द्रीय कार्यसमितिको कुल आकार २३२ सदस्यकै रहनेछ। पदाधिकारी संख्या बढाउने प्रस्ताव बन्दसत्रबाट विधान संशोधनमार्फत अनुमोदन भएपछि कार्यान्वयनमा आउनेछ।

    केन्द्रीय कार्यसमितिमा युवाको प्रतिनिधित्व बढाउने व्यवस्था पनि गरिएको छ। ३५ वर्षमुनिका युवालाई समेत केन्द्रीय संरचनामा समेट्ने व्यवस्था संशोधित विधानमा राखिएको छ। सभापतिले मनोनीत गर्ने केन्द्रीय सदस्यको संख्या पनि ६१ पुर्‍याइएको छ।

    नेतृत्वका आकांक्षीको संख्या बढ्दै गएपछि कांग्रेसले पदाधिकारीको संख्या बढाउन लागेको हो। विशेषगरी उपसभापति, सहमहामन्त्री तथा महिला र युवा प्रतिनिधित्वलाई व्यवस्थापन गर्न पद थप्ने विषयमा लामो समयदेखि छलफल हुँदै आएको थियो।

    विधान संशोधनको प्रस्ताव महाधिवेशनको बन्दसत्रमा पेस भएपछि प्रतिनिधिहरूले त्यसमा छलफल गर्नेछन्। बन्दसत्रबाट पारित भएपछि मात्रै नयाँ संरचनाअनुसार पदाधिकारी चयनको प्रक्रिया अघि बढ्नेछ।

    यसपटक कांग्रेसको महाधिवेशनले नेतृत्व चयनसँगै पार्टीको सांगठनिक संरचना, युवा तथा महिला सहभागिता र समावेशी प्रतिनिधित्वमा समेत महत्वपूर्ण परिवर्तन गर्ने तयारी गरेको छ।

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend