पर्सा। वीरगन्जस्थित नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पतालमा देखिएको समस्या झनै बढ्ने देखिएको छ।
स्नातकोत्तर पहिलो वर्षका आवासीय चिकित्सक र व्यवस्थापनबीचको विवाद नटुंगिदा अहिलेसम्म वार्ताको वातावरणमा बनेको छैन भने तनाव बढ्दो छ।
स्नातकोत्तर पहिलो वर्षका आवासीय चिकित्सक र व्यवस्थापनबीच तलब–भत्ता, कार्य समय, विश्राम सुविधा र आन्दोलनका क्रममा गरिएको कारबाहीलाई लिएर विवाद छ। सो विषयलाई लिएर चिकित्सकहरु आन्दोलनमा उत्रिएपछि कलेजमा तनावको अवस्था कायम छ।
आन्दोलनरत चिकित्सकहरूले असोज २ गते कलेज प्रशासनलाई आफ्ना तर्फबाट सात बुँदे मागपत्र बुझाइसकेका छन्। तर कलेज प्रशासन ती मागमा टसमस देखिएको छैन।
आवासीय चिकित्सकहरूले कलेजले सात आवासीय चिकित्सकविरुद्ध दायर गरेको मुद्दा फिर्ता लिनुपर्ने, प्रसूति तथा स्त्रीरोग विभागका तीन चिकित्सकमाथिको कारबाही खारेज गर्नुपर्ने, २४ घण्टे ड्युटी हप्तामा बढीमा दुई पटक मात्र राख्नुपर्ने, ड्युटीपछि अनिवार्य बिदा दिनुपर्ने तथा सरकारले तोकेअनुसार निर्वाह भत्ता उपलब्ध गराउनुपर्ने माग राखेका छन्।
कलेज व्यवस्थापनले भने चिकित्सकहरूले उठाएका आरोप अस्वीकार गरेको छ। कलेजले पर्सा जिल्ला अदालतमा दायर गरेको गालीबेइज्जतीसम्बन्धी मुद्दाले संस्थाको प्रतिष्ठा तथा साखमा गम्भीर क्षति पुगेको दाबी गरेको छ।
यस्तै कलेज प्रशासनले चिकित्सकहरूले उठाएका कतिपय आरोप तथ्यहीन र भ्रामक रहेकोसमेत दाबी गर्दै आइरहेको छ। केही चिकित्सकका उजुरी र सार्वजनिक अभिव्यक्तिलेसमेत संस्थाको प्रतिष्ठा तथा साखमा गम्भीर क्षति पुगेको कलेज ब्यवस्थापन पक्षले भनेको छ।
संघर्षरत चिकित्सक पक्ष भने चिकित्सा शिक्षा आयोगले निर्धारण गरेको सुविधा र मापदण्ड कलेज पक्षले कार्यान्वयन नगरेकाले आन्दोलनमा उत्रनु परेको बताउँछन्।
उनीहरूले आन्दोलनका क्रममा कटौती गरिएको तलब भुक्तानी गर्न र आन्दोलनमा सहभागी चिकित्सकमाथि कुनै प्रकारको भेदभाव नगर्न समेत माग गर्दै आइरहेका छन्।
दुई पक्षबीचको विवाद बढ्दै जाँदा कलेज प्रशासनले आन्दोलनरत चिकित्सकलाई छात्रावास खाली गर्न निर्देशनसमेत दिएको घियो। तर सो निर्देशन कलेजले फिर्ता लिइसकेको छ।
अहिले पनि कलेजमा पहिलो वर्षका चिकित्सकहरूको आन्दोलन जारी छ भने दोस्रो र तेस्रो वर्षका अधिकांश चिकित्सक भने नियमित काममा फर्किएका छन्।
राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद रहवर अन्सारीले बिहीबार प्रतिनिधिसभाको बैठकमा बोल्दै कलेजमा चिकित्सा शिक्षासम्बन्धी विभिन्न अनियमितता भइरहेको आरोप लगाएकाब्थिए। उनले कलेजले काम नगर्ने चिकित्सक तथा प्राध्यापकलाई कागजमा फ्याकल्टीका रूपमा देखाएर पीजीका करिब २५ सिट लिएको दाबीसमेत गरेका थिए।
सो क्रममा अन्सारीले चिकित्सा शिक्षा आयोगको निरीक्षणका क्रममा अस्पतालमा नक्कली बिरामीसमेत देखाउने गरिएको आरोप लगाएका छन्। उनले पीजी अध्ययनरत विद्यार्थीले कलेजमा भइरहेको भनिएको अनियमितताविरुद्ध आवाज उठाएपछि उनीहरूमाथि दबाब सिर्जना गरिएको दाबी पनि गरे।
विद्यार्थीलाई होस्टेल खाली गर्न लगाउने, अस्पतालमा काम गर्न नदिने तथा कलेजको गेटबाट प्रवेशमा रोक लगाउनेजस्ता गतिविधि भएको उनको आरोप थियो।
सांसद अन्सारीले प्रतिनिधिसभामा आरोप लगाएपछि नेशनल मेडिकल कलेजले शुक्रबार विज्ञप्ति जारी गर्दै उक्त आरोपहरूको खण्डन गरेको छ। प्रशासन प्रमुख विश्वनाथ कन्ठद्वारा हस्ताक्षरित विज्ञप्तिमा कलेजले आफू विरुद्ध लगाइएका आरोपबारे निष्पक्ष, पारदर्शी र तथ्यमा आधारित छानबिन गर्न आफू तयार रहेको जनाइएको छ। यस्तै छानबिनका क्रममा आवश्यक अभिलेख तथा विवरण उपलब्ध गराउने प्रतिबद्धतासमेत कलेजले जनाएको छ।



