काठमाडौं। नेपाल चिकित्सक संघले नेपाल सरकारअन्तर्गत छात्रवृत्ति र करार सेवामा कार्यरत चिकित्सकहरूलाई प्रोत्साहन भत्ता दिन माग गरेको छ।
संघले शुक्रबार एक विज्ञप्ति जारी गर्दै नेपाल सरकार अन्तर्गत छात्रवृत्ति करार सेवामा कार्यरत चिकित्सकहरुलाई प्रोत्साहन भत्ता उपलब्ध नगराइएकोप्रति संघले गम्भीर ध्यानाकर्षण भएको जनाएको हो।
स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयबाट जारी गरिएको ‘नेपाल सरकारबाट छात्रवृत्ति प्राप्त चिकित्सक तथा स्वास्थ्यकर्मी परिचालन निर्देशिका, २०७१’ बमोजिम करार सेवामा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीहरुले नेपाल सरकारको सुरु तलब स्केल बराबर तलब तथा स्थानीय भत्तालगायत अन्य भत्ता र सुविधा पाउने व्यवस्था रहेको जनाएको छ।
तर, सरकारी स्वास्थ्य संस्थामा करार तथा ज्यालादारीमा कार्यरत चिकित्सकहरू प्रोत्साहन भत्तालगायतका सुविधाबाट वञ्चित भएको संघको भनाइ छ।
नेपाल सरकारको मातहतमा काम गर्ने सबै चिकित्सकले प्रोत्साहन भत्तालगायतका सुविधा समान रूपमा पाउनुपर्ने संघले स्पष्ट पारेको छ।
संघले स्वास्थ्य सेवा अत्यन्त संवेदनशील क्षेत्र भएकाले चिकित्सक तथा स्वास्थ्यकर्मीको मनोबल उच्च राख्न, सेवा प्रवाहलाई प्रभावकारी बनाउन र समान कामका लागि समान सुविधा सुनिश्चित गर्नुपर्ने जनाएको छ।
छात्रवृत्ति करार र ज्यालादारीमा कार्यरत चिकित्सकहरू पनि स्वास्थ्य सेवामा निरन्तर रूपमा खटिँदै आएको उल्लेख गर्दै संघले प्रोत्साहन भत्तालगायतका सुविधा उपलब्ध गराउन सरकारसँग जोडदार माग गरेको हो।
नेपाल चिकित्सक संघका महासचिव डा. विश्वराज दवाडी र अध्यक्ष डा. बद्री रिजालद्वारा जारी विज्ञप्तिमा चिकित्सकहरूको सेवाको प्रकृति र जिम्मेवारीलाई ध्यानमा राख्दै समान सुविधा सुनिश्चित गर्न सरकारको ध्यानाकर्षण गराइएको छ।




