काठमाडौँ। नजिकिँदै गरेका दसैँ, तिहार तथा छठ पर्वलाई लक्षित गर्दै काठमाडौँ उपत्यकामा यात्रु सहायता कक्ष सञ्चालनमा ल्याइएको छ।
‘सुरक्षित सडक र सवारी, हामी सबैको जिम्मेवारी’ भन्ने सन्देशसहित शुक्रबार नयाँ बसपार्कमा आयोजित कार्यक्रममा काठमाडौँ उपत्यका प्रहरी कार्यालयका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक शुशील सिंह राठौरले रिबन काटेर यात्रु सहायता कक्षको शुभारम्भ गरे।
चाडपर्वका बेला काठमाडौँ उपत्यकाबाट बाहिरिने यात्रुको चाप बढ्ने र उनीहरूलाई विभिन्न समस्या पर्न सक्ने भएकाले सुरक्षित, व्यवस्थित र सहज यात्राका लागि सहायता कक्ष स्थापना गरिएको हो।
यातायात व्यवस्था विभाग, ट्राफिक प्रहरी, सामुदायिक प्रहरी, यातायात व्यवसायी तथा उपभोक्ता समूहका प्रतिनिधिहरूको संयुक्त पहलमा सहायता कक्ष सञ्चालनमा ल्याइएको हो।
नयाँ बसपार्कसहित माछापोखरी, टोखा, तीनपिप्ले, भीमढुङ्गा, नाङ्लेभार, कलंकी, बल्खु, नागढुङ्गा, कोटेश्वर, चाबहिल, फर्पिङ, साँखु, चापागाउँ र जगाती गरी उपत्यकाका १५ स्थानमा यात्रु सहायता कक्ष स्थापना गरिनेछ।
शुभारम्भ कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षक राठौरले चाडपर्वका बेला यात्रुको बाध्यता र चापलाई अनुचित आर्थिक लाभ लिने अवसर बनाउन नहुने बताए।
उनले क्षमताभन्दा बढी यात्रु चढाउने, तोकिएकोभन्दा बढी भाडा असुल्ने, टिकटमा कालोबजारी गर्ने, टिकट नदिने तथा यात्रुसँग अनावश्यक शुल्क लिने जस्ता गतिविधि नगर्न यातायात व्यवसायीलाई सचेत गराए।
यस्ता गतिविधि तथा यात्रुमाथि हुने दुर्व्यवहारमा संलग्नलाई प्रचलित कानुनअनुसार कारबाही गरिने उनको भनाइ थियो।
कार्यक्रममा नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष सरोज सिटौला र नेपाल यातायात स्वतन्त्र मजदुर संघका केन्द्रीय उपाध्यक्ष नवराज घिमिरेले मन्तव्य राखेका थिए।
काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सुरेशप्रसाद काफ्लेले यात्रुको बढी भीडभाड हुने स्थानलाई प्राथमिकतामा राखेर सहायता कक्ष स्थापना गरिएको बताए।
यात्रुलाई पर्न सक्ने समस्या समाधान गर्नुका साथै आवागमन सहज बनाउन सहायता कक्षले सहजीकरण गर्ने उनले जानकारी दिए।
सहायता कक्षबाट यात्रुको गुनासो सम्बोधन, भाडादरको निगरानी, फर्जी टिकटमाथि कारबाही, आधिकारिक व्यक्तिबाट टिकट जारी भए–नभएको जाँच तथा सुरक्षित आवागमनसम्बन्धी सूचना र सचेतना प्रदान गरिनेछ।
त्यस्तै, मनसुनजन्य विपद्का कारण सडक तथा सवारी आवागमन अवरुद्ध भएमा त्यससम्बन्धी जानकारीसमेत यात्रुलाई उपलब्ध गराइनेछ।



