काठमाडौँ। जटिल प्रसूति समस्या भएकी हुम्लाको एक महिलालाई हेलिकप्टर मार्गत हवाई उद्धार गरिएको छ।
महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालयले राष्ट्रिय महिला सशक्तीकरण परियोजनाअन्तर्गत सञ्चालन गर्दै आएको गर्भवती तथा सुत्केरी महिलाको हवाई उद्धार कार्यक्रममार्फत हुम्लाकी एक महिलाको उद्धार गरिएको हो।
आश्विन १५ गते हुम्लाको सर्केगाड गाउँपालिका–३ निवासी २६ वर्षीया महिलामा जटिल प्रसूति समस्या देखिएपछि उनलाई थप उपचारका लागि नेपाली सेनाको हेलिकप्टरमार्गत सुर्खेत पुर्याइएको हो।
स्थानीय स्वास्थ्य संस्थामा आवश्यक उपचार सम्भव नभएपछि विशेषज्ञ उपचारका लागि तत्काल उद्धार गरी सुर्खेत लगिएको मन्त्रालयले जनाएको छ।
दुर्गम तथा भौगोलिक रूपमा विकट क्षेत्रका गर्भवती तथा सुत्केरी महिलालाई समयमै स्वास्थ्य उपचारको पहुँचमा पुर्याउने उद्देश्यले मन्त्रालयले हवाई उद्धार कार्यक्रम सञ्चालन गर्दै आएको छ।



