मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

रामजानकी विवाह महोत्सव, भारतबाट आए जन्ती

रामजानकी विवाह महोत्सव, भारतबाट आए जन्ती

images
२०८१ मंसिर १८ गते, मंगलवार
२०८१ मंसिर १८ गते, मंगलवार
  • जनकपुर। जनकपुरधाममा हुने रामजानकी विवाह महोत्सवमा सरिक हुन आएका जन्तीलाई मटिहानीमा स्वागत गरिएको छ। भारतको अयोध्याबाट आएका जन्तीलाई गएराति मटिहानीमा स्वागत गरिएको हो।

    images

    मटिहानीका नगरप्रमुख हरिप्रसाद मण्डलसहितका जनप्रतिनिधि, जिल्लाका प्रमुख जिल्ला अधिकारी लालबाबु कवारी र नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीका जिल्लास्थित प्रमुखहरूसहित मटिहानी नगरवासीले जन्तीको स्वागत गरेका हुन्।

    images

    मटिहानीस्थित लक्ष्मीनारायण मठका मानमहन्थ, सामाजिक सङ्घसंस्थाका अगुवा, मटिहानीस्थित याज्ञवल्क्य लक्ष्मीनारायण विद्यापिठका आचार्य र राजकीय संस्कृत माध्यमिक विद्यालय (मटिहानी गुरुकूल)का  शिक्षक, वटुकहरू र महोत्तरी उद्योग वाणिज्य सङ्घका पदाधिकारी सहभागी छन्।

    यसपटकको रामजानकी महोत्सवमा सरिक हुन अयोध्यास्थित श्रीराम ट्रष्टका उच्च पदाधिकारी र साधुसन्तसहितको पाँच सय जनाको जन्ती टोली मटिहानी आइपुगेको हो।

    सप्ताहव्यापी रामजानकी विवाह महोत्सवमा प्रत्येक पाँचौँ वर्ष अयोध्याबाट जन्ती सजिएर आउने परम्परा छ। नेपाल प्रवेश गरेपछि मटिहानी पहिलो दिनको रात्रिविश्राम गरेर जनकपुर प्रस्थान गर्ने परम्पराअनुसार नै जन्ती सोमबार राति नै  मटिहानी आइपुगेका हुन्।

    मटिहानी राम–सीताको विवाहमा वेदी बनाउन माटो खनिएको ठाउँका रुपमा परिचित छ। राम–सीताको विवाहमा एउटा महत्त्वपूर्ण पाटो जोडिएको हुँदा आफ्नो ठाउँ विवाह महोत्सवको महत्त्वपूर्ण कडी रहँदै आएको नगरप्रमुख मण्डल बताउछन्।

    अयोध्याबाट आएका अतिथिलाई मिथिला भोजन (दालभात, सब्जी, चटनी, पापरतिलौरी, तरुवा र दही) गराइएको नगरप्रमुख मण्डलले बताए। सोमबार रात्रिविश्राम मटिहानीमा गरेका जन्ती आज बिहान जलेश्वर, पिपरा हुँदै जनकपुरधाम जाने जनाइएको छ।

    जानकी मिथिलापुत्री भएकी हुँदा यहाँका बासिन्दा उहाँका माइती र मिथिलावासीका कुटुम्ब मानिन्छन्। मिथिलामा दुलही पक्षका परिवारजनले जन्तीसँग ठट्टा मजाक, हासपरिहास गर्ने स्थापित चलन छ।

    यसअनुसार मटिहानीवासीले अयोध्याबाट आएका जन्तीसँग दिल खोलेर ठट्टामजाक र हासपरिहास गरेका छन्।
      
    आज मटिहानीबाट जन्ती  जलेश्वर जानेछन्। जलेश्वर नगरवासीको स्वागत ग्रहण गरी जलेश्वरनाथ महादेवको दर्शन गरेर जन्तीलाई आज महोत्तरीकै पिपरामा दिवाभोजन गर्ने तालिका छ। मटिहानीजस्तै जलेश्वर नगरपालिका र पिपरा गाउँपालिकाले पनि जन्तीको स्वागत तयारी गरेका छन्।

    जन्ती आज नै साँझ जनकपुरधाम पुग्ने जनाइएको छ। त्यहाँ पुगेपछि जन्ती जानकी मन्दिर व्यवस्थापनको अतिथिका रूपमा महोत्सव अवधिभर रहनेछन्।

    सप्ताहव्यापी विवाह महोत्सव जनकपुरधाममा आइतबार नै ‘जनकपुर नगर दर्शन’ कार्यक्रमबाट सुरु भइसकेको छ। महोत्सवको दोस्रो दिन  सोमबार ‘फुलबारी लीला’ सम्पन्न भएको छ।

    ‘जनकपुर नगर दर्शन’ र ‘फुलबारी लीला’ क्रमशः राम–लक्ष्मण गुरु विश्वामित्रसाथ जनकपुर पुग्नुभएको र बगैँचामा रामको सीताजीसँग देखादेख भएको रामकथासँग सम्बन्धित छन्।

    यसैगरी तेस्रो दिन आज धनुषयज्ञ आयोजना हुँदैछ। आज श्रीरामले शिवजीको धनुष ताँदो चढाउने क्रममा भाँचिएको लीला आयोजना गरिएको छम यसैगरी चौथो दिन तिलकोत्सव (दुलहीका पिताबाट वरपूजन र वस्त्रआभूषण प्रदान गरिने विधि), पाँचौँ दिन मटकोर (विवाहका लागि यज्ञवेदी बनाइने र कूल देवीदेवताको पूजा गर्ने विधि), छैटौँ दिन शुभविवाह र अन्तिम अर्थात् सातौँ दिन रामकलेवा विधिका कार्यक्रम सम्पन्न गरिनेछन्। रामकलेवा जन्ती बिदाइ गरिने विधि हो।

    यस विधिमा सम्धी, दुलहाका विशिष्ट नातासम्बन्धका व्यक्ति र जन्तीलाई वस्त्रआभूषण र नगद दक्षिणा दिई बिदा गर्ने मैथिल परम्परा छ। अघि त्रेतायुगमा श्रीराम र जानकीको विवाह मङ्सिर शुक्लपक्ष पञ्चमी तिथिमा भएको विश्वासमा मिथिलामा यो महोत्सव परम्परा चल्दै आएको हो।

     

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend